‘प्रधानमन्त्रीले राजीनामा दिए निरंकुशता हाबी’

विराटनगर, २ भदौ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकल्पविना राजीनामा दिए मुलुकमा निरंकुशता हाबी हुने बताएका छन् ।

पार्टीको कोचिला राज्य समितिले शुक्रबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले प्रधानमन्त्री डा. भट्टराईले अहिले नै राजीनामा दिए राष्ट्रपतिले अर्को प्रधानमन्त्री छान्ने र त्यो निरंकुश विधि हुने जिकिर गरेका हुन् । ‘सहमति नजुटी राष्ट्रपतिले अर्को सरकार गठन गरे हामी अर्को सरकार गठनको माग गर्दै सडक आन्दोलनमा जान्छौँ, दाहालले भने, ‘र, पुन: अर्को सरकार बन्दा मुलुकमा निरंकुशता बढ्छ ।’ दलहरूबीच राष्ट्रिय सहमति कायम नगरी प्रधानमन्त्रीले राजीनामा दिए मुलुक दुर्घटनामा फस्ने दाबी गर्दै उनले मुद्दामा सहमति गर्न नमान्ने अनि कामचलाउ प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद भएको टिप्पणी गरे ।
संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन एक साताभित्र दलहरूबीच सहमति गर्न लागिपरेको जानकारी दिँदै उनले कुनै कारणले त्यो हुन नसके थप एक महिनाभित्र सहमति जुट्ने दाबी गरे । पाँचबुँदे सहमतिअनुरूप जान अरू दल सहमत भए सरकारको नेतृत्व कांग्रेसलाई दिन आफूहरू तयार रहेको उल्लेख गर्दै उनले भने, ‘तर, पाँचबुँदेअनुरूप नजाने र मुद्दाहरूलाई थाती राखेर प्रधानमन्त्री फेर्ने कुरामात्र गर्ने हो भने कांग्रेसलाई नेतृत्व दिन सकिँदैन ।’
वामपन्थी नेतृत्वको गठबन्धनलाई दक्षिणपन्थी भन्नु हास्यास्पद भएको जिकिर गर्दै उनले समान विचार भएका पार्टीहरूबीच मोर्चाबन्दी गर्नुलाई अन्यथा लिन नहुने तर्क गरे । उनले पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभाबाट संविधान ल्याउनुपर्छ भनेर मोर्चाबन्दी गर्दा पुरातनवादीहरू तिलमिलाएको आरोप लगाए । उनले गठबन्धनमा सामेल दलहरूबीच पार्टी एकीकरणसमेत हुन सक्ने बताए ।

जिल्लिए विपक्षी दलका कार्यकर्ता
प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार बिहान विराटनगर आउने खबर पाएपछि कालोझन्डा देखाउन विमानस्थल पुगेका विपक्षी दलका भ्रातृसंगठनका कार्यकर्ता जिल्लिएका छन् ।
प्रधानमन्त्री र परराष्ट्रमन्त्री एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै विराटनगर आउने सूचना पाएर विमानस्थल पुगेका युवा संघ नेपाल, तरुण दल, नेविसंघ र अनेरास्ववियुका कार्यकर्ता दुवैजना नआएपछि जिल्लिएका हुन् । ‘प्रधानमन्त्री र मन्त्रीलाई देखाउन भनेर तयार पारिएको कालोझन्डा बनाउनु मात्र पर्‍यो, देखाउनचाहिँ परेन,’ सरकारविरुद्ध आन्दोलन गर्न गठित संघर्ष समितिका संयोजक रवीन थापाले भने ।
सरकारविरुद्ध आन्दोलनरत कांग्रेस, एमालेलगायत विपक्षी दलका कार्यकर्ता प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई कालोझन्डा देखाउन तम्तयार भएर बसेका थिए । मन्त्री सहभागी कार्यक्रम बहिष्कार गर्ने र मन्त्रीहरूलाई कालोझन्डा देखाउने योजनाअनुरूप विराटनगर विमानस्थलनजिक तयारी अवस्थामा रहेका उनीहरू दाहालमात्र विमानबाट निस्किएपछि त्यसै फर्किएका थिए ।
कुनै पनि दलका नेतालाई नभई मन्त्रीहरूको कार्यक्रम बहिष्कार गरी उनीहरूलाई मात्र कालोझन्डा देखाउने कार्यक्रम भएकाले दाहाललाई अभद्र व्यवहार नगरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य वासिम आलमले बताए ।
एकीकृत माओवादी मोरङ सहइन्चार्ज गणेश उप्रेतीले कोचिला र लिम्बुवान राज्यस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैजना आउने कार्यक्रम तय भएको भए पनि अन्तिम अवस्थामा स्थगित भएको जानकारी दिए । ‘कसैको विरोध र अवरोधका कारण उहाँहरू नआउनुभएको होइन, आन्तरिक कारणले यस्तो हुन गएको हो,’ उनले भने ।

प्रतिक्रिया