उहिलेकी फ्यान अहिलेकी बेस्ट फ्रेन्ड


नौ वर्ष लामो चलचित्र करियरमा प्रशंसक प्रशस्तै कमाएकी छु मैले । एउटी फ्यान त एकदमै नजिककी साथी नै बनिसकेकी छन् । फेसबुकलगायत सामाजिक सञ्जालको प्रचलन शुरु भएसँग फ्यानहरुसँग नजिकिन सजिलो भयो । नत्र त्यसअघि फ्यानहरुसँग नजिकिन यति सजिलो बाटो थिएन । उही कतै कार्यक्रममा भेट्दा फोटो खिचायो, अटोग्राफ दियो सकियो † फ्यानको नेचर अनि मेरो अभिनयबारे उनीहरुको धारणा मलाई थाहै हुँदैनथ्यो । तर, सामाजिक सञ्जालमा पहुँच बढ्नासाथ अनेक विचार अनि शैलीका फ्यानहरुलाई पढ्ने मौका पाएँ । कोही भन्थे– ‘तपाईंलाई बच्चैदेखि मन पराउँछु, आई लभ यु †’ कोहीचाहिँ साथी मात्र भए पनि बनौं न भन्थे । अहिले पनि यो क्रम जारी छ । तर, एउटी फ्यानको प्रसंग भने मेरा लागि सधैंभरि अविस्मरणीय छ । जो अहिलेकी मेरी आत्मीय साथी हुन् ।
उनको नाम हो मीनु बस्नेत, सुकेधाराकी बासिन्दा । उनी जापान बस्दै आएकी रहिछन् । एक दिन मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाइछन् । यस्ता रिक्वेस्ट थुप्रै आउँथे । कति अवस्थामा केटाहरुले नै केटीको फोटो पठाएर रिक्वेस्ट पठाएका हुन्थे । कन्फर्म गर्‍यो उटपट्याङ कुरा गरेर हैरानै लाउने । त्यसैले उनको रिक्वेस्ट कन्फर्म गरिहालेकी थिइनँ । एक दिन फेसबुकमा फ्यानहरूसँग समय बिताउने मुड चल्यो । फ्रेन्ड रिक्वेस्ट हेरें, उनी अझै रहिछन् । मलाई उनको नाम मन पर्‍यो । उनको फुसबुक वाल हेरें, त्यो पनि मन पर्‍यो । अनि उनको रिक्वेस्ट कन्फर्म गरें । हामीबीच च्याटिङ शुरु भयो । साधारण हाइहेलो हुन्थ्यो । उनले मेरो व्यक्तित्व र अभिनयको खुबै प्रसंसा गरिन् ।
उनले मेरो चलचित्रभन्दा बढी म्युजिकभिडियो नै हेरेकी रहिछन् । चलचित्र बाटो मुनिको फुल हेरेकि रहेछिन् । आफ्नो भूमिका बरु म आफैं बिर्सिसकेकी थिएँ, उनीचाहिँ एकपछि अर्को गर्दै पूरै स्टोरी नै सुनाउँदै थिइन् । यही कारण उनीसँग म प्रभावित भएँ । उनलाई आफ्नो विशेष फ्यान मानें ।
फेसबुकमै एक दिन उनले आफू नेपाल आउन लागेको बताइन् । मैले भेटौं है त भनें । उनी आएर मलाई सम्पर्क गरिन् । वसन्तपुरको जिन्स क्याफेमा भेट्यांै । आधा घन्टाको बसाइमा पनि उनले मेरो फुसबुकमा जस्तै तारिफ गरिन् । यसपछि हामीबीच फोनमा पनि कुराकानी हुन थाल्यो । उनी फर्किसकेकी थिइनन् । अब मलाई उनी फ्यानभन्दा बढी साथी लाग्न थालिन् । मेरा साथी नेपालमै पनि दुई चार जन मात्र छन् । विदेशमा रहेकाहरु पनि उनीजति विशेष चाहिँ छैनन्, अहिले आएर यस्तै लाग्छ । केही समयपछि उनलाई मैले आफ्नो घर लगें । उनको घर पनि गइयो । मीनु र मेरो उमेर लगभग उस्तै छ । कुराकानी पनि मिल्ने । सम्बन्ध झन् प्रगाढ हुँदै गयो । अहिले त एकअर्कालाई तँ भनेर बोलाउँछौं । उनको विवाह भइसक्यो । मेरो चाहिँ बाँकी नै छ । अहिले त उनका बारे घरपरिवारदेखि हरेक कुरामा म जानकार छु, अनि उनी पनि मबारे उत्तिकै जानकार छिन् । उनीसँग एक–दुई दिन मात्र कुराकानी भएन भने पनि केही छुटे–छुटेजस्तो लाग्छ मलाई ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया