कांग्रेस र एमाले डराए : दाहाल

तानसेन, १ भदौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक सहमति जुटाउन संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाले निर्णायक र नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् । संघीयता पक्षधरको मोर्चा गठनछि कांग्रेस र एमाले डराएर सहमति गर्न आतुर बनेको अध्यक्ष दाहालको भनाइ छ ।

क्रान्तिकारी पत्रकार संघ पाल्पाले बिहीबार तानसेनमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले मोर्चामा विघटित संविधानसभाका बहुसंख्यक पार्टीको प्रतिनिधित्व रहेको बताए । मोर्चामा मुद्दाका आधारमा एमाओवादीबाट छुट्टिएर बनेको नेकपा–माओवादी पनि मिल्नुको विकल्प नरहेको तर्क गर्दै दाहालले पहिचानसहितको संघीयता, संविधान, अग्रगामी राज्य पुन:संरचनाका विरोधी कांग्रेस र एमालेको मोर्चामा नवगठित माओवादी नजाने दाबी गरे ।
एमालेका जातीय पहिचानसहितको संघीयता पक्षधर नेताहरूले आगामी १५ भदौमा नयाँ दल गठन गर्ने र त्यसको पनि समर्थन मोर्चालाई नै हुने उनको भनाइ थियो । ‘केही दिनमै संविधानसभामा सहभागी भएका दुई दल मोर्चामा आउने तयारी भएको छ, संविधानसभामा सहभागी बहुसंख्यक दलको सहभागिता रहेको मोर्चाले राष्ट्रिय समस्या समाधानका लागि निर्णायक र नेतृत्वदायी भूमिका खेल्नेछ,’ पार्टीको मगरात राज्य समितिको सम्मेलन उद्घाटन गर्न पाल्पा पुगेका उनले भने, ‘मोर्चाले उठाएका मुद्दामा कांग्रेस र एमाले नमान्ने कुरै भएन ।’

एमाओवादी आफैँ पछारिन्छ : नेपाल
सौर्य समाचार

काठमाडौं, १ भदौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादीले एमाले र कांग्रेसविरुद्ध मोर्चाबन्दी गरेर मुलुकलाई झन् द्वन्द्वतर्फ धकेल्ने खतरनाक बाटो रोजेको बताएका छन् ।
कोटेश्वरस्थित आºनै निवासमा सञ्चारकर्मीसँग बिहीबार वरिष्ठ नेता नेपालले जे–जे गर्दा मुलुकमा जटिलता थपिन्छ एमाओवादी त्यही–त्यही गर्दै हिँडेको आरोप लगाए । मोर्चाबन्दीपछि सडकमै छिनोफानो हुने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले मुठभेड निम्त्याउन खोजेको भन्दै नेपालले मोर्चाबन्दी गरेर चुनौती दिन खोजे पनि ऊ आफैँ पछारिने दाबी गरे ।
‘ध्रुवीकरण र अन्तरविरोधमा खेलेर सधँै चुनौती दिन खोजे पनि एमाओवादी आफैँ पछारिँदै आएको छ,’ उनले भने, ‘विगतमा पनि माओवादीले कहिल्यै पछार्न सकेजस्तो लाग्दैन, अब पनि अरू होइन आफैँ पछारिन्छ ।’
जातीय समस्या सम्बोधन गर्ने नाममा एमाओवादीले जातजातिलाई भड्काएर आºनो दलीय स्वार्थ पूरा गर्न खोजेको आरोप उनले लगाए । एमाओवादीको जालमा नफस्न आग्रह गर्दै उनले भने, ‘माओवादीको जालमा फस्नुभयो भने भोलि पछुताउनुपर्ने हुन सक्छ । त्यसैले उनीहरूले फिँजाएको भ्रमजालबाट तपार्इंहरू पनि मुक्त हुनुस् ।’
एमाओवादी नेतृत्वको मोर्चाबन्दीमा सहभागी हुने मात्रै संघीयता पक्षधर भन्ने एमाओवादी नेताको भनाइलाई उनले पञ्चायती नाराको पुनरावृत्तिको संज्ञा दिए । ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भनेर जो पञ्च हुँदैन त्यो नेपाली हुनै सक्दैन भन्दाभन्दै पञ्चायतको अन्त्य भयो,’ उनले भने, ‘यो माओवादीको पञ्चायती सूत्रको पुनरावृत्ति र सर्वसत्तावादी अभिव्यक्तिको अर्को उदाहरण हो ।’
अहिले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हटाउने भन्दा पनि मुलुकलाई अधिनायकवादबाट कसरी मुक्ति दिने भन्ने नै प्रमुख समस्या भएको भन्दै उनले आन्दोलनबाटै सबै छिनोफानो गर्नुको विकल्प नरहेको बताए ।
उनले नयाँ संविधान जारी गर्ने प्रक्रियाबारे छलफल गरेर राजनीतिक निकासको टुंगोमा पुग्न सकिने धारणा राखे । अहिलेसम्म भएका सहमतिलाई नयाँ संविधानको मस्यौदाको रूप दिएर बाँकी विषयलाई अनुसूचीमा समावेश गरी घोषणा प्रक्रियाबारे सहमति खोज्न सकिने बताएका हुन् । सहमति जुटेका बुँदालाई संविधानको मस्यौदाको रूप दिएर त्यसलाई जनमतसंग्रहमार्फत पारित गर्न सकिने धारणा नेपालले राखे ।
‘अहिलेसम्म भएका सहमतिका आधारमा संविधानको मस्यौदा तयार गरी पारित गर्न जनमतसंग्रह वा चुनावमार्फत बनेको संसद्लाई नै संविधानसभाको अधिकार दिएर वा अत्यन्तै छोटो समय एक घन्टाकै लागि भए पनि संविधानसभा पुन:स्थापना गरेर संविधान जारी गर्ने अनेक विकल्पमा छलफल गर्न सक्छौँ,’ उनले भने, ‘सहमति भएका विषयलाई मस्यौदाको रूप दिएर सहमति हुन नसकेकालाई अनुसूचीमा राख्ने गृहकार्यमा जुटौँ, प्रक्रियामा सहमति जुटाउन सकिन्छ ।’

प्रतिक्रिया