कांग्रेसले पुनरावलोकन निवेदन दिने


काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसले केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री खुमबहादुर खड्काको भ्रष्टाचार मुद्दाका सम्बन्धमा सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिने निर्णय गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति बैठकले विशेष अदालतबाट सफाई पाईसकेका नेता खड्कालाई सर्वोच्चले भ्रष्टाचारको मुद्दामा सजाय तोकेकोमा आफूलाई दुःखित तल्याएको जनाएको छ ।
‘विशेष अदालतबाट सफाई पाएको भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट ठहर गरी पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई सजाय तोकेकामा हामीलाई आश्चर्यचकित र दुःखीत तुल्याएको छ,’ वैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ, ‘सर्वोच्च अदालतबाट भएको उक्त अन्यायपूर्ण फैसला उपर कानून व्यवसायीहरुसँग सल्लाह गरी न्यायिक पुनरावलोकनको लागि पार्टीले सक्रिय पहल गर्नेछ ।’
खड्कालाई भ्रष्टाचारको अभियोगमा सर्वोच्चले गरेको फैसला विरुद्ध पुनरावलोकनमा जाने प्रस्ताव सभापति सुशील कोइरालाले गरेको केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिए ।
राजनीतिक प्रतिशोधका आधारमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले खड्कालाई भ्रष्टाचारको मुद्दा चलाएको भन्दै उनले सो विषयलाई लिएर कांग्रेसका नेताहरुलाई धामधम सक्ने काम भएको दाबी गरे ।
पूर्व मन्त्री खड्कालाई सर्वोच्चले भ्रष्टाचार गरेको अभियोगमा डेढ बर्ष कैद र विगो जरिवानाको फैसला गरेको थियो ।
केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि कांग्रेस नेता खड्का विरुद्ध भएको फैसालाका सम्बन्धमा सर्वोच्चमा पार्टीले पुनरावलोकन निवेदन दिने प्रस्ताव पारित भएको बताईन् ।
कांग्रेसले खड्काका सम्बन्धमा सर्वोच्चमा आफै पुनरावलोकन निवेदनका लागि जाने निर्णय गरेपछि उनलाई केही राहत भएको छ ।
बैठक बस्नु अघि पार्टी कार्यालयमा जम्मा भएका समर्थकले पार्टीले खड्का र अन्य नेताहरुलाई संरक्षण नगरेको भन्दै नेतृत्वको आलोचना गरेका थिए । उनीहरुले खड्काको समर्थनमा नारावाजी समेत गरेका थिए ।

प्रतिक्रिया