असंवैधानिक काम नगर्न आग्रह

काठमाडौं, ३१ साउन । संविधानसभा पुनःस्थापनाको पक्षमा लविङ गर्दै आएका निवर्तमान सभासदहरुले वर्तमान कामचलाउ सरकारलाई असंवैधानिक र गैर राजनीतिक निर्णय नगर्न आग्रह गरेका छन् ।
निवर्तमान सभासद सदस्यहरुका तर्फबाट आज जारी विज्ञप्ति अनुसार राजनीतिक दलहरुले तत्काल वार्ता प्रारम्भ गरी संकटको निकास दिन आग्रह गरिएको छ ।
‘अन्तरिम संविधानको मूल मर्म र भावना विपरीत असंवैधानिक र गैर राजनीतिक निर्णय नगर्न सम्वद्ध सबै पक्षसंग हामी हार्दिक आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
लामो समयसम्म वर्तमान अवस्था रहिरहनु राष्ट्र र जनताको हितमा नहुने भन्दै निवर्तमान सभासदहरुले समस्या समाधानका लागि सबै राजनीतिक दलका बीच सहमति अनिर्वाय रहेको बताएका छन् ।
२०६२/०६३ को शान्तिपूर्ण जनआन्दोलनको उपलव्धीको रक्षा गर्दै संविधानका विवादित विषयमा सहमति गरेर नयाँ संविधान जारी गर्न संविधानसभा छोटो समयका लागि पुनःस्थापना गर्न पनि उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया