प्राधिकरणले एनसेलसँग सेयरको विवरण माग्यो

काठमाडौं, ३१ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले निजी दूरसञ्चार सेवाप्रदायकहरू एनसेल र स्याटेलाइट टेलिकम (हेलो नेपाल) लाई सेयर किनबेचबारे स्पष्ट जवाफ दिन निर्देशन दिएको छ । दुई कम्पनीले नियामक निकायलाई कुनै जानकारी नै नदिई गुपचुप सेयर किनबेच गरेपछि प्राधिकरणले यसबारे जानकारी मागेको हो ।
प्राधिकरणले दुवै कम्पनीलाई यथाशीघ्र कम्पनीको सेयर किनबेच प्रक्रिया, सेयर होल्डरको यथार्थ विवरण, वास्तविक लगानीकर्ता तथा तिनको लगानीबारे विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । ‘विवादमा आएका सबै कुराको यथार्थ विवरण दिन भनेका छौँ ।’ प्राधिकरण प्रवक्ता कैलाशप्रसाद न्यौपानेले सौर्यसँग भने । लामो समय भइसक्दा पनि सेयर किनबेचबारे प्राधिकरण बेखबर रहेको उनले बताए । प्राधिकरणले कति परिमाण र मूल्यको सेयर किनबेच भएको हो भनेर समेत सोधेको छ । एनसेलले हेलो नेपालको ७५ प्रतिशत सेयर तीन अर्ब रुपियाँमा किनेको बताइएको छ । ‘कति सेयर किनिएको हो सोधेका छौँ ।’ प्रवक्ता न्यौपानेले भने ।
एनसेल र हेलो नेपालको सेयर किनबेच मामला अख्तियारमा समेत पुगिसकेको छ । ‘सम्बन्धित कुनै निकायलाई थाहा नदिई यति ठूलो कारोबार गर्नु हेपाहा प्रवृत्ति हो,’ अख्तियार स्रोतले भन्यो । सेयर किनबेचसम्बन्धमा अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ । स्रोतअनुसार हेलो नेपाललाई अनुमतिपत्र सुल्कमा अन्य कम्पनीभन्दा फरक गर्दा राज्यलाई परेको हानी र करका विषयमा पनि आयोगले अनुसन्धान थालेको छ । हेलो नेपाललाई अनुमतिपत्र दिँदा नेपालभर मोबाइल सेवा सञ्चालन गर्ने अरू कम्पनीलाई जसरी नवीकरण २० अर्ब रुपियाँको व्यवस्था छैन । यसले गर्दा राज्यलाई अरबौँ हानी पुगेको प्रतिवेदन तत्कालीन सार्वजनिक लेखा समितिअन्तर्गत एक उपसमितिले दिएको थियो । हेलो नेपालले सर्तअनुसार काम गर्न नसकेको र अनावश्यक फ्रिक्वेन्सी ओगटेर राखेको प्रतिवेदनमा उल्लेख छ । हेलो मोबाइललाई आवश्यकताभन्दा बढी फ्रिक्वेन्सी दिइएबारे समेत आवाज उठ्दै आएको छ । त्यही बढी फ्रिक्वेन्सी भएकै कारण आफूले सो मोबाइल कम्पनी किनेको टेलियासोनेराले बताइसकेको छ । हेलो नेपालसँग अहिले १३.४ मेगाहर्ज फ्रिक्वेन्सी छ ।
एनसेलमा टेलियासोनेराको ८० प्रतिशत सेयर लगानी रहेको बताइए पनि प्राधिकरणमा रहेको लगानी तथा सेयर हिस्साको तथ्यांकमा भने रिनोल्डस् होल्डिङस् लिमिटेड, चाल्र्स टाउन, वेस्टइन्डिजको ८० प्रतिशत र सिनर्जी नेपाल प्रालिको २० प्रतिशत सेयर रहेको उल्लेख छ । ‘टेलियासोनेराको लगानी भनिएको छ तर यसको प्रत्यक्ष लगानी देखिएको छैन । त्यसकारण विस्तृत विवरण दिन भनिएको छ,’ प्राधिकरण प्रवक्ता न्यौपानेले भने । वास्तविक लगानीकर्ता र सेयर किनबेचबारे अख्तियारले प्राधिकरणसँग सक्कल फाइल मागेको न्यौपानेले जानकारी दिए । ‘अख्तियारले दुवै कम्पनीलाई अनुमतिपत्र दिँदाका सबै प्रक्रियाका फाइल तथा माइन्युट मागेको छ । साथै, अनुमतिपत्र कसको नाममा छ र कस–कसका नाममा सेयर छ भनेर पनि सोधेको छ,’ उनले भने ।
दूरसञ्चार ऐनअनुसार सेवाप्रदायकले सेयर संरचना परिवर्तन गर्नुअघि प्राधिकरणलाई जानकारी दिनुपर्छ । लाइसेन्स लिँदाको सेयर संरचनामा परिवर्तन भए पनि सरकारी निकायमा भने पुरानै तथ्यांक छ । युटिएलले समेत तीन वर्षअघि रघुवीर महासेठले १५ प्रतिशत सेयर किनेको जानकारी प्राधिकरणलाई महिनौँपछि मात्र गराएको थियो ।
प्रतिस्पर्धा ऐनअनुसार ४० प्रतिशत बजार हिस्सा भएको कम्पनीमा अर्को कुनै पनि कम्पनी गाभिन पाउँदैन । त्यस्तै प्राधिकरणले तयार पारेको मर्जर नीति मस्यौदामा पनि ४० प्रतिशतभन्दा बढी बजार हिस्सा हुनेगरी कुनै पनि दूरसञ्चार कम्पनी गाभिन नपाउने व्यवस्था छ ।
एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा व्यापारी अजय सुमार्गीले हेलो नेपालको अनुमति पाएका थिए । हेलो नेपालको ७५ प्रतिशत स्वामित्व युरोपको टेलियासोनेराले लिएपछि एउटै विदेशी कम्पनीले नेपालका दूरसञ्चार सेवामा कतिसम्म लगानी गर्न पाउने भन्ने प्रश्न उब्जिएको छ । नेपालमा दूरसञ्चार सेवामा ८० प्रतिशतसम्म वैदेशिक लगानी खुला गरिए पनि एउटाले अर्कोमा गर्ने लगानीका विषयमा भने नीति छैन । एउटै कम्पनीले दुईवटामा लगानी गर्दा भविष्यमा दुई कम्पनी मिलेर मोबाइल शुल्क मिलेमतोमा तोक्नसक्ने संभावनासमेत रहेको विज्ञहरू बताउँछन् ।
दुइ बर्षपछि एनसेलले मोबाइल लाइसेन्स नवीकरण गर्न २० अर्ब तिर्नुपर्ने भएकाले एनसेललाई नेपाल सेटेलाइटमा गाभ्न सेयर किनबेच सुरु भएको बताइन्छ । एनसेलको नवीकरण शुल्क २० अर्ब रुपियाँ छ भने नेपाल सेटेलाइटको २५ लाख मात्र छ ।

अस्वस्थ प्रतिस्पर्धामा एनसेल
काठमाडौं : सरकारी कम्पनी नेपाल टेलिकम र एनसेलबीच अस्वस्थ प्रतिस्पर्धा सुरु भएपछि नियामक निकाय दूरसञ्चार प्राधिकरणले समाधान पहल थालेको छ । एनसेलले टेलिकमका ग्राहक आफूतिर तान्ने योजना ल्याएपछि प्रतिकारस्वरूप टेलिकमले एनसेलमा कल फर्वाडिङ सुविधा रोक्दै प्राधिकरणसमक्ष समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको थियो ।
टेलिकमको आग्रहअनुसार प्राधिकरणले दुवै पक्षलाई वार्तामा बोलाएको हो । दुई पक्षबीच अर्को साता वार्ता हुने प्राधिकरण प्रवक्ता कैलाशप्रसाद न्यौपानेले जानकारी दिए । ‘हाम्रो काम दुई पक्षलाई मिलाउने हो । वार्ता गराएर समस्या समाधान गर्छौं,’ उनले भने । टेलिकम प्रवक्ता सुरेन्द्र थिकेले एनसेल अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि प्राधिकरणलाई वार्ताको पहल गर्न आग्रह गरिएको बताए । ‘अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ, रोक्नुपर्‍यो भनेका छौँ । यसमा प्राधिकरणको भूमिका महत्त्वपूर्ण हुन्छ,’ थिकेले भने । अर्को सेवाप्रदायकलाई बाधा पुग्नेगरी कुनै पनि योजना वा स्किम ल्याउन नपाइने उनले बताए ।

प्रतिक्रिया