वाणिज्य बैंकको लाभांश १० प्रतिशतमा सीमित

काठमाडौं, ३१ साउन । गत आर्थिक वर्षको नाफाबाट अधिकांश वाणिज्य बैंकले ५ देखि १० प्रतिशतसम्म लाभांश दिनसक्ने स्थिति देखिएको छ । घट्दो नाफासँगै सेयर बजारमा पनि विस्तारै गिरावट आउन थालेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकको पुँजी दुई अर्ब रुपियाँ पुर्‍याउनुपर्ने बताएपछि बोनस र हकप्रद सेयर प्रदान गरी पुँजी बढाएका बैंकले नाफाको वृद्धि दरलाई कायम राख्न नसकेपछि लाभांश पनि कम मात्र दिनसक्ने स्थिति देखिएका सेयर विश्लेषक रवीन्द्र भट्टराईले बताए ।

मंगलबार चौँथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको सानिमा बैंकले आफ्नो कुल नाफा १२ करोड नौ लाख ८५ हजार रुपियाँ देखाएको छ । गैरआवासीय नेपालीले प्रवद्र्धन गरेको यो बैंक विकास बैंकबाट स्तरोन्नति भएर गत आवदेखि वाणिज्य बैंकमा रूपान्तरण भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेलगायत समूहले प्रवद्र्धन गरेको सो बैंकमा सेयरमा लगानीकर्ताको उत्साहविपरीत मुनाफा कम भएपछि मंगलबार एकै दिन ७ दशमलव ५८ प्रतिशत बराबरको १६ रुपियाँले गिरावट आई एक सय ९५ रुपियाँमा कारोबार भयो ।
आठ हजार एक कित्ता सेयरको ४८ वटा कारोबारमा १५ लाख ६३ हजार नौ सय ३५ रुपियाँ कारोबार भएको थियो । बैंकको अधिकतम दुई सय सात रुपियाँ न्यूनतम एक सय ९० रुपियाँसम्म कारोबार भयो । बैंकको चाँैथो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाको अधिकतम सेयर मूल्य तीन सय सात रुपियाँसम्म पुगेको थियो । राष्ट्र बैंकको प्रावधानअनुसार वित्तीय संस्थाले कुल नाफाको २० प्रतिशत अनिवार्य सञ्चितिमा राख्नुपर्छ । अनिवार्य सञ्चिति रकम छुट्याएपछि बचेको रकमबाट सेयरधनीका लागि वितरण योग्य रकम करिब साढे नौ करोड रुपियाँ हुन आउँछ । सेयरधनीको वितरणयोग्य रकमलाई कुल सेयर संख्याले भाग गर्दा सानिमाले ५ प्रतिशतभन्दा कम मात्र लाभांश वितरण गर्नसक्ने स्थिति देखिएको छ । सेयर विश्लेषक भट्टराईले गत आवमा वाणिज्य बैंकको कार्य सम्पादन सकारात्मक नभएका कारण खुद मुनाफा बढ्न नसकेकाले लाभांश रकम घट्न गई सेयर बजार घट्न गएको बताए ।
त्यसैगरी ग्रान्ड बैंकले चौँथो वित्तीय विवरण प्रकाशित गर्नुअघिसम्म दुई सय रुपियाँभन्दा माथि कारोबार भइरहेको थियो । दुई अर्ब चुक्ता पुँजी रहेको बैंकले १८ करोड ३६ लाख रुपियाँ मुनाफा गरी साढे ७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । लाभांश घोषणासँगै घट्न थालेको उक्त बैंकको सेयर मंगलबार एक सय ७५ रुपियाँमा कारोबार भयो ।
नेपालको सेयर बजारमा अत्यधिक लाभांश दिने कम्पनीको नेतृत्व वाणिज्य बैंक समूहले नै गर्दैै आएको छ । कुल सेयरको ८० प्रतिशत हिस्सा ओगटेको वित्तीय क्षेत्रमध्ये पनि अधिकांश वाणिज्य बैंककै सेयरको प्रभुत्व छ । वाणिज्य बैंक समूहअन्तर्गत स्टयान्डर्ड चार्टर्ड बैंक, नबिल बैंकलगायत बैंकहरूबाहेक अरू बैंकले आकर्षक लाभांश घोषणा गर्नसक्ने स्थिति देखिएको छैन । हालसम्म प्रकाशित वित्तीय विवरणमध्ये नबिल बैंकले सबैभन्दा बढी एक अर्ब ७२ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । गतवर्ष एक अर्ब ३३ करोड मुनाफा आर्जन गरेको बैंकले ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गतवर्ष एक अर्ब ११ करोड खुद मुनाफा आर्जन गर्दा ५० प्रतिशत नगद लाभांश वितरण गरेको स्टयान्डर्ड चार्टर्डले गत आवमा एक अर्ब १६ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।
त्यसैगरी किस्ट बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १० करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । अनिवार्य सञ्चितिपछि बैंकले आठ करोड रुपियाँसम्म मात्र बाँड्न सक्छ जुन प्रतिशत आधारमा ४ प्रतिशत मात्र हुनआउँछ । स्टयान्डर्ड फाइनान्सलाई आफूमा गाभेपछि माछापुच्छ्रे बैंकको चुक्ता पुँजी बढेर दुई अर्ब ४७ करोड पुगे पनि बैंकको मुनाफा १० करोड रुपियाँ हाराहारी मात्रै छ । बैंकले लाभांश बाँडिहालेमा पनि ५ प्रतिशतभन्दा कम मात्र बाँड्नसक्ने स्थिति देखिएको छ । सनराइज बैंकको प्रतिसेयर आम्दानी सात रुपियाँ २८ पैसा छ । अनिवार्य सञ्चिति रकमपछि बैंकले पनि ६ प्रतिशतभन्दा बढी नगद लाभांश बाँड्न सक्दैन । नयाँ बैंकमध्ये सिटिजन्स बैंकले प्रतिसेयर आम्दानी १० रुपियाँ देखाएको हिसाबले १० प्रतिशतभन्दा बढी लाभांश बाँड्नसक्ने स्थिति देखिएको छैन ।
नेपालको सेयर बजार बढ्ने समूहको नेतृत्व गर्ने वाणिज्य बैंकको आम्दानी पुँजी वृद्धिसँगै बढाउन नसकेपछि घट्नथालेको छ । मंगलबार सेयर बजारमापक नेप्से परिसूचकमा २ दशमलव ६ अंकले घटेर ३ सय ९७ दशमलव १८ बिन्दुमा रह्यो । वाणिज्य बैंकपछि तुलनात्मक रूपमा सेयर बजार बढ्ने समूहको नेतृत्व जलविद्युत् समूहमा निहित छ । जलविद्युत् समूहको वित्तीय विवरण प्रकाशित नभएकाले हाल वाणिज्य बैंकले दिने लाभांश घोषणासँगै बजार घट्न थालेको सेयर विश्लेषक भट्टराईले बताए ।

प्रतिक्रिया