पहिलो खेलमा नेपाल नराम्ररी पराजित

टाउन्सभिल (अष्ट्रेलिया), ३० साउन । आइसिसी यु–१९ विश्वकपमा सोमबार आफ्नो पहिलो समूहखेलमा अस्ट्रेलियाविरुद्ध भिडेको नेपाल २१२ रनले पराजित भएको छ । सबै पक्ष (ब्याटिङ, बलिङ र फिल्डिङ) मा कमजोर प्रदर्शन गरेको नेपाली टोली यस हारपछि सुपर–एट प्रवेश गर्ने सम्भावना पनि कठिन बनेको छ । नेपालको पराजयमा अस्ट्रेलियाले कीर्तिमानी साझेदारीको सफलता हात पार्‍यो भने एक बलरले हयाट्रिक पूरा गर्नुका साथै एक ब्याट्सम्यानले शतक बनाए ।
कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाली टोली २९५ रनको लक्ष्य पछयाउने क्रममा २३.५ ओभरमा ९२ रनमा सीमित भयो । नेपालका चार खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके भने चार खेलाडीले खाता नै खोल्न पाएनन् । मध्यक्रमका सागर पुन र राजेश पुलामीमगरले समान २२ तथा प्रारम्भिक ब्याट्सम्यान सुभाष खकुरेल १२ र मध्यक्रमका हासिम अन्सारीले १३ रनको योगदान गरे ।
नेपालको कुल योगफल ११ रन हँुदा अस्ट्रेलियाका हयारी कन्वेले लगातार ३ विकेट लिएर हयाट्रिक पूरा गरेका थिए । यसक्रममा प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरी व्यक्तिगत १ रनमा आउट भए भने त्यसपछि ब्याटिङ गर्न आएका नरेश बुढाएर र कप्तान पृथु बास्कोटाले पहिलो बल सामना गर्दै खाता नखोली आउट भए । चौथो ओभरको अन्तिम दुई बलमा ऐरी र नरेशलाई बोल्डआउट गरेका कन्वेले छैटाँै ओभरको पहिलो बलमै पृथुलाई पनि बोल्ट गरी हयाट्रिक पूरा गरेका थिए । सागरसँग १० रनको साझेदारी गरेपछि विकेटकिपर सुभाष खराब सट प्रहार गर्दै क्याचआउट भएपछि नेपाल ८.२ ओभरमा २१–४ मा पुगेको थियो । सागर र राजेशले पाँचौँ विकेटका लागि ४२ रनको साझेदारी गरे पनि त्यो अर्थपूर्ण हुन सकेन । १८आँै ओभरको पहिलो बलमा सागर क्याचआउट भएपछि राजेश र हासिमबीच भएको १५ रनको साझेदारी नै त्यसपछिको उच्च साझेदारी रहयो । राजेश स्टम्पिङ भए भने हासिम बोल्ड । राहुल विश्वकर्मा ३, कृष्ण कार्की १ र अविनाश कर्ण शून्य रनमा आउट भए । ९ अतिरिक्त रन पाएको नेपालले ‘बाउन्ड्री’ को नाममा खेलभर आठवटा चौका प्रहार गरेको थियो । बलिङतर्फ अस्ट्रेलियाका एस्टन टर्नरले ४ विकेट लिए । पहिलो खेलमा इंगल्यान्डलाई पराजित गरेको अस्ट्रेलिया समूह ए बाट सुपर–एट पुग्ने सम्भावना बलियो भएको छ ।
दुई खेलबाट ४ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने आफ्नो दोसं्रो खेलमा आयरल्यान्डलाई हराएको इंगल्यान्ड दोस्रोमा छ । चार टोली रहेको समूहमा नेपाल पुछारमा छ । नेपालले आफ्नो दोस्रो खेलमा बुधबार आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेल इंगल्यान्डविरुद्ध खेल्नेछ । समूहको शीर्ष दुई टोली सुपर–एट प्रवेश गर्ने प्रावधान छ ।
यसअघि केमरुन ब्यानक्रफ्टको शतक तथा दोस्रो विकेटका लागि भएको १५९ रनको साझेदारीपछि अस्ट्रेलिया निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९४ रन जोड्न सफल भएको हो । प्रारम्भिक ब्याट्सम्यान ब्यानक्रफ्टले १२५ रन जोडे भने तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कुर्तिस प्याटर्सनले ८६ रन जोडे । यु–१९ स्तरमा अस्ट्रेलियाले दोस्रो विकेटका लागि सबैभन्दा धेरै रनको साझेदारी गरेको हो । अविनाश कर्णको बलमा सागर पुनबाट समातिनुअघि ब्यानक्रफ्टले १३९ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच भए ।
३१ रन जोड्दा पहिलो विकेट गुमाएको अस्ट्रेलियाको त्यसपछिको साझेदारी भुवन कार्कीले प्याटर्सनलाई बोल्टआउट गरी तोडे । बलिङतर्फ नेपालका प्रदीप ऐरी र राहुलकुमार विश्वकर्माले २/२ विकेट लिए । सागर पुन र पृथु बास्कोटाबाहेक बलिङ गरेका पाँच नेपाली बलरको रन औसत पाँच भन्दा बढी रहयो । नेपाली टोलीले कमजोर फिल्डिङ गर्दा पटकपटक विकेट लिने अवसर गुमाएको थियो भने सजिलै रन दिएर आफैमाथि दबाब सृजना गरेको थियो ।

पाकिस्तान र वेस्ट इन्डिज विजयी
साविक विजेता अस्ट्रेलियासँगै साविक उपविजेता पाकिस्तान र वेस्ट इन्डिजले पनि लगातार दोस्रो जित हात पारे । पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले स्कटल्यान्डलाई ९ विकेटले पराजित गर्‍यो भने वेस्ट इन्डिजले पपुआ न्युगिनीलाई ९ विकेटले नै निराश बनायो । पहिलो खेलमा बंगलादेशद्वारा पराजित श्रीलंका भने नामिवियाविरुद्धको खेलमा १९५ रनले विजयी भयो । एजेन्सी

प्रतिक्रिया