रावा बैंक र एनआइडिसी गाभिँदै

काठमाडौं, ३० साउन । आगामी पुस मसान्तभित्र राष्ट्रिय वाणिज्य बैंकसँग एनआइडिसी डेभलपमेन्ट बैंक मर्ज हुने भएको छ । राष्ट्र बैंकले गत २४ असारमा दिएको निर्देशनबमोजिम राष्ट्रिय वाणिज्य बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकसँग मर्ज गर्न समितिसमेत गठन गरेको छ ।

वाणिज्य बैंकले तयार पारेको पुँजी योजना राष्ट्र बैंकले स्वीकृत गरेपछि सरकारले बैंकमा चार अर्ब ३२ करोड ५३ लाख १० हजार रुपियाँ लगानी गरिसकेको छ । शतप्रतिशत सरकारी स्वामित्व भएको बैंकले एक सेयर बराबर ११ दशमलव २२ प्रतिशतले हकप्रद सेयरबापत सरकारले सो रकम बैंकलाई दिएको हो । बैंकसँग ३८ करोड ५३ लाख रुपियाँ बराबर साधारण सेयर छ । यसको ११ दशमलव २२ प्रतिशत अनुपातमा सरकारले लगानी गरेको हो । बैंकको पँुजी संरचनामा ७८ करोड ७० लाख रुपियाँको अग्राधिकार सेयर छ । यसलाई पनि बैंकले साधारण सेयरमा परिवर्तन गरी चुक्ता पुँजी एक अर्ब १७ करोड २३ लाख पुगेको थियो । हकप्रद सेयरबापत रकमसमेत जोडेर बैंकको चुक्ता पँुजी पाँच अर्ब ५० करोड रुपियाँ पुगेको छ । यो कृषि विकास बैंकपछि सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बनेको छ ।
समितिका एक सदस्यका अनुसार एनआइडिसी बैंकसँगको मर्जपछि बैंकको चुक्ता पुँजीमा थप ४१ करोड ५८ लाख २० हजार रुपियाँ थपिनेछ । त्यसैगरी बैंकले सरकारलाई तिर्न बाँकी आठ करोड ६५ लाख ७० हजार रुपियाँ लाभांशलाई पनि चुक्ता पुँजीमा परिवर्तन गर्ने योजना बनाएको छ । बैंकको किताबमा रहेको ३० वर्षको भुक्तानी अवधि रहेको विश्व बैंकबाट प्राप्त साढे दुई अर्ब रुपियाँको स्पेसल ड्रइङ राइट्स ऋणलाई पनि चुक्ता पुँजीमा परिणत गर्ने योजना बैंक योजनामा समावेश छ ।
बैंकको अधिकृत पुँजी १० अर्ब र जारी पुँजी नौ अर्ब रुपियाँ छ । बैंकले अघिसारेको पुँजी वृद्धि योजनाअनुरूप अघि बढे तेस्रो वर्ष मात्रै पुँजी कोष तोकेको अनुपातमा पुग्ने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए । हाल बैंकको पुँजीकोष २० दशमलव ८७ प्रतिशतले नकारात्मक छ । राष्ट्र बैंकले वाणिज्य बैंकको पुँजी कोष न्यूनतम १० प्रतिशत तोकेको छ ।
गत आवको तेस्रो त्रैमासिकसम्म ७९ अर्ब ८१ लाख रुपियाँ निक्षेप संकलन गरी ३७ अर्ब ३९ करोड ऋण प्रवाह तथा २५ अर्ब ३९ करोड लगानी गरेको छ । यसअवधिमा ६६ करोड १९ लाख खुद नाफा गरेको बैंकको कुल कर्जामा खराब कर्जाको अंश १० दशमलव ५८ प्रतिशत छ । राष्ट्र बैंकले ५ प्रतिशतसम्म खराब कर्जा भएको बैंकलाई सामान्य मानेको छ । चालु आव असारसम्म ८५ अर्ब निक्षेप संकलन गरी ४२ अर्ब कर्जा लगानी हुने अनुमान गरेको बैंकले यसअवधिमा एक अर्ब २५ करोड खुद नाफा गर्ने लक्ष्य लिएको छ । चैतसम्म सञ्चित नोक्सानी नौ अर्ब १४ करोड रुपियाँ छ ।
बैंकको अझै तीन अर्ब ७६ करोड भाखा नाघेको कर्जा छ । अरू बैंकका तुलनामा उक्त बैंकमा ६ गुणासम्म कर्मचारी खर्च बढी हुनुका साथै अन्य सञ्चालन खर्च पनि बढी हुने गरेको छ । बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न निर्देशिका बनाएरै अघिबढ्ने योजना अघिसारेको छ । सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा व्यवसाय ह्वात्तै बढेको बताउँदै शाखा सञ्जाल राम्रो रहेको यस बैंकले ग्रामीण क्षेत्र केन्द्रित भएर कारोबार विस्तार गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । बैंकका एक सय ४० शाखा सबै कम्प्युटर नेटवर्कमा आबद्ध छन् । बैंकले चार वर्षमा खराब कर्जालाई २ प्रतिशतभन्दा कम र निक्षेप ६० प्रतिशत र कर्जा ६६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ । बैंकमा दुई हजार ६ सय कर्मचारी छन् ।

प्रतिक्रिया