‘चीनको पूर्वाधार निर्माणबारे भारत जानकार’

नयाँदिल्ली : भारतसँगको सीमा क्षेत्रमा चीनले पूर्वाधार निर्माण कार्य तीव्र पारेको रिपोर्ट भारतीय सञ्चारमाध्यममा प्रकाशित भइरहेका बेला भारतले चीनको पूर्वाधार विकास कार्यक्रमबारे आफू जानकार रहेको र यसलाई नजिकैबाट नियालिरहेको जनाएको छ । भारतीय प्रतिरक्षामन्त्री एके एन्टोनीले सोमबार त्यहाँको लोक सभासमक्ष बुझाएको लिखित जवाफमा यस्तो उल्लेख छ । ‘भारतसँगको सीमा क्षेत्रमा जारी चीनको पूर्वाधार निर्माण कार्यक्रमबारे भारत सरकार जानकार छ । पूर्वाधार निर्माण कार्यक्रममा रेल, सडक र हवाई मार्ग निर्माण समेटिएका छन् । यस्ता हरेक घटना क्रममाथि भारतले निगरानी राखिरहेको छ,’ उनले भनेका छन् । भारतसँगको सीमा क्षेत्रमा रणनीतिक दृष्टिकोणले महत्त्वपूर्ण ७३ वटा सडक निर्माण भइरहेको उल्लेख गर्दै उनले त्यसमध्ये ६१ वटा सडक बोर्डर रोड अर्गनाइजेसन (बिआरओ) मातहत निर्माणाधीन अवस्थामा रहेको जानकारी दिएका छन् । १६ वटा सडक निर्माण सकिएको, २६ वटा सन् २०१३ सम्म सकिने र १९ वटा सन् २०१६ सम्म निर्माण भइसक्नेसमेत उनले जनाएका छन् ।
लोकसभा सदस्यले चीनको पूर्वाधार निर्माणबारे सरकारको धारणा मागेपछि प्रतिरक्षामन्त्री एन्टोनीले लिखित जवाफ बुझाएका हुन् । लोकसभामा उठेको जिज्ञासाको जवाफमा उनले चीनसँगको सीमा क्षेत्रबाट हुने घुसपैठ रोक्न सरकारले बहुक्षेत्र लक्षित नीति लिएको जानकारी गराएका छन् । ‘सीमा क्षेत्रबाट हुनसक्ने घुसपैठ रोक्न चौबीसै घन्टा अनुगमन र चौकीदारीको बन्दोबस्त मिलाइएको छ । साथै, अनुगमन पोस्ट, सीमा क्षेत्रमा पर्खाल लगाउने र अधिक उज्यालो फ्याक्ने उपकरणको व्यवस्था मिलाइएको छ,’ उनले भनेका छन् । विगत केही समययता भारतीय बुद्धिजीवी एवं सञ्चारमाध्यमले चीनले सीमावर्ती क्षेत्रमा जारी राखेको भनिएको पूर्वाधार निर्माण कार्यक्रमप्रति अनेक आशंका व्यक्त गर्दै आएका छन् । (एजेन्सी)

प्रतिक्रिया