विज्ञानको कल्पना युद्धभूमिमा परिणत भएपछि

गत साता म केही नयाँ पुस्तकहरू आएका छन् कि भनी क्याम्र्बलीको पुस्तकालयभित्र छिरेँ । एकपछि अर्को हेर्ने क्रममा एउटा चाखलाग्दो पुस्तक हात पर्‍यो । उक्त पुस्तक एक अमेरिकी प्रसिद्ध लेखक पी डब्ल्यु सिंगरद्वारा लेखिएको थियो । यी लेखकका बारेमा मैले केही पहिले कताकता सुनेको वा पढेको थिएँ । नजिकैको कुर्सीमा बसेर पाना पल्टाउँदै गएँ । पी डब्ल्यु सिंगरले आºनो ‘वायर्ड फर वार’ नामक पुस्तकमा लेख्छन्– ‘अहिले युद्धका निम्ति यस्तो अभूतपूर्व रेभुलुसन भैरहेको छ जुन रेभुलुसनले कसरी युद्ध गर्ने भन्ने मात्र परिवर्तन गरेको छैन कि यसले युद्धको राजनीति, युद्धको अर्थतन्त्र, युद्धको कानुन र युद्धको इथिक्ससमेत परिवर्तन गरेको छ ।’
पी डब्ल्यु सिंगर अगाडि लेख्छन्– ‘यो त मात्र रेभुलुसनको सुरुआत हो, सैनिक अधिकारीहरूले के कुरा पनि बुझेका छन् भने अब आगामी दिनमा युद्धविमान उडाउनका निम्ति डाइरेक्ट पाइलटहरूको आवश्यकता पर्ने छैन । किनकि पेन्टागनले निकट भविष्यमै झिंगाको साइजको रोबोट बनाउँदै छ जुन रोबोट भविष्यमा स्पेसल आर्मी ट्रुपको विकल्पका रूपमा खडा हुनेछ । पाँच वर्षअघिसम्म ‘अन म्यान सिस्टम’ थिएन तर यसको विकास यति छिटो भयो कि अहिले इराकको आकाशमा मात्र १२ हजार अमेरिकी ‘अन म्यान सिस्टम’ अर्थात मान्छेविनाका युद्धविमानहरू उडिरहेका छन् ।”
यी पंक्तिहरू पढेपछि मलाई खासगरी भियतनाम युद्धपछि अमेरिकाको युद्ध योजनाहरूका बारेमा हल्का चिन्तन गर्न मन लाग्यो । भियतनाम युद्धपछि अमेरिकाले आºना युद्ध योजनाहरूमा अझ निरंकुश ढंगले परिवर्तन गर्दै आइरहेको छ । यद्यपि भियतनाम युद्ध हुँदा भियतनामीहरूको भन्दा अमेरिकीहरूको युद्ध हतियारहरू वैज्ञानिक र आधुनिक थिए तर उसले ठूलो संख्यामा आºना सैनिकहरू गुमाएको थियो । सैनिक गुमाउने मात्र नभएर अन्तत: युद्ध पनि हार्‍यो । युद्धताका भियतनामबाट दैनिक रूपमा अमेरिकि सैनिकहरूका लासका ब्यागहरू अमेरिका फर्काएको देखेपछि अमेरिकी जनता युद्धविरोधी हुन थाले । अमेरिकी सरकारले जनतामा युद्धविरोधी मनोविज्ञान विकास भएको देखेर आºनो युद्धनीति र रणनीतिमा परिवर्तन ल्याउने योजना बनायो । खासगरी भियतनाम युद्धपछि अमेरिकी सरकार र सैनिकले थुप्रै कुराहरू सिक्ने मौका पाए तर दुर्भाग्य उनीहरूले युद्ध नगर्ने भन्ने (ननमेलेट्री पोलिसी) सिक्नुको बदला युद्ध अघि बढाउन विज्ञानको सहयोग लिन र यसको विकास गर्न थाले । समस्या समाधानका नाममा आफ्ना सैनिकहरू नमारीकन युद्ध गर्ने योजना बनाए । जस्तै अहिले लिबियामा अमेरिकीहरूले लिबियाविरुद्ध युद्ध गरिरहेका छन् । अमेरिकी सरकारले आफ्ना सैनिकहरूलाई विनाकुनै खतरा लिबिया पठाएका छन् । अमेरिकी सैनिकहरू त्यहाँ रोबोर्ट हतियारले लडिरहेका छन् । उनीहरूले रिमोट कन्ट्रोलद्वारा मानिस मारिरहेका छन् ।
अमेरिकाले २००४ सालदेखि सिआइएको स्पेसल एक्टिभिटी डिभिजनको नेतृत्वमा उत्तरपूर्व पाकिस्तानमा रिमोट कन्ट्रोलद्वारा ‘क्रिच एअर फोर्स बेस अमेरिका’ बाट युद्ध गरिरहेको छ । उक्त रिमोट कन्ट्रोल युद्ध लडाकु (अन म्यान्ड एरियल भिएकल्स) मान्छे नभएको लडाकु विमान २००४ को तुलनामा बाराक ओबामाको पालादेखि अरू बढ्दै गैरहेको छ । अमेरिकीहरूले खासगरी ‘वार अन टेरोर’ घोषणा गरेदेखि यस प्रकारको स्ट्राटजी बनाएका हुन् । एकातिर पाकिस्तानी सरकारले आफ्ना जनतासमक्ष पाकिस्तानमाथि भइरहेको अमेरिकी आक्रमणको विरोध गरेको देखाएको छ भने अर्कातिर पाकिस्तान सरकारले अमेरिकालाई साम्जी एयर फिल्ड पाकिस्तानबाट मान्छे नभएको लडाकु विमान अर्थात् रोबोट चलाउन अनुमति दिइरहेको छ । अमेरिकाले लगभग डेढ वर्षदेखि पाकिस्तानी गुरिल्ला एवं स्वतन्त्रता सेनानीविरुद्ध आक्रमण गरिरहेका छन् र सिआइएले यसको क्रेडिट लिँदै आइरहेको छ । पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसमक्ष पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा उनले हाम्रो युद्ध स्ट्राटजी ल्पान र टेक्नोलोजीबारे कुनै कमेन्ट गर्न चाहन्न भनिन् । यस प्रकारको युद्ध लडाकु विमानहरू २००१ मा अफगानिस्थानमाथि आक्रमण गरेदेखि पाकिस्तानमाथिको आकाशमा उडिरहेका छन् । यी मान्छेविहीन युद्ध विमानहरू अमेरिकी पाइलटहरूले ‘क्रिच एअर फोर्स बेस अमेरिका’ बाट उडाइरहेका छन् । उनीहरूले खिचेका भिडियोहरू पाकिस्तानी सरकारलाई उपलब्ध गराउँदै आइरहेका छन् । ती मान्छेविहीन युद्ध विमानहरू अफगानिस्थानको जलालावाद र कुनै कुनै पाकिस्तानबाटै उड्छन् । न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार ती मान्छेविहीन युद्ध विमानहरू सिआइएको हेटक्वार्टर लांगली, भर्जिनियाबाट कन्ट्रोल गरिरहेका छन् । उता सिआइएले भने अफगानिस्थानमा गरिएका हवाइ आक्रमणबाट थोरै संख्यामा मानिस हताहत हुने गरी डिजाइन गरेको दाबी गरेको छ । तर, न्यु अमेरिका फाउन्डेसनको पब्लिक रिपोर्टअनुसार ८२ वटा मान्छेविहीन युद्ध विमानहरूले २००६ सालदेखि अहिलेसम्म पाकिस्तानमा मात्र एक हजारभन्दा बढी सर्वसाधारणको हत्या गरेको बताइएको छ । जसमध्ये साढे तीन सयभन्दा बढी सर्वसाधारण एवं बालबच्चा भएको बताइन्छ ।
त्यति मात्र नभएर पाकिस्तान सरकारले, जुन जुन ठाँउहरूमा मान्छेविहीन युद्ध विमानहरूमार्फत आक्रमण भएको छ, त्यहाँ त्यहाँ पत्रकारहरूलाई पुग्न र त्यसबारे रिपोर्ट गर्न प्रतिबन्ध लगाएको छ । त्यसैले यथार्थमा के कति मान्छेहरू, पाकिस्तानमा मान्छेविहीन युद्ध विमानहरूको आक्रमणद्वारा मारिएका छन् भन्ने थाहा पाउन गाह्रो छ । त्यस्तै अमेरिकाले अहिले यस्तै प्रकारको आक्रमण प्यालेस्टाइनमा गर्ने योजना बनाएको छ । जुन आक्रमणद्वारा निर्धारित रूपमा आंतकवादीहरूलाई मात्र मार्ने योजना भन्दै आइरहेको छ । अमेरिकाका अनुसार यदि उनीहरूले यी मान्छेविहीन युद्ध विमानहरू प्यालेस्टाइनमाथि पनि चलाएमा आफ्ना सैनिकहरू मर्ने छैनन् । अमेरिकाको यो तर्कबारे प्रतिक्रिया दिँदै जर्ज टाउन युनिभर्सिटी, कानुन विभागका प्रोफेसर ग्यरी सोलीसले न्यु योर्कर पत्रिकासँग भने, ‘केही समयअघि हामीले इजरायललाई प्यालिस्टाइनमाथि हवाइ आक्रमण गरेको बारे आलोचना गरेका थियौँ, अहिले हामीले त्यही गर्न गइरहेका छौँ ।’
एक रिपोर्टअनुसार सिआइएद्वारा सञ्चालित मान्छेविहीन युद्ध विमानहरूको आक्रमणले यो वर्ष २०१२ मा मात्र पाकिस्तानमा पाँचसय ३८ सर्वसाधारण मारिएको बताइएको छ । तीमध्ये धेरैजसो बालबच्चा र सडक किनारमा उभिइराखेका सर्वसाधारण व्यक्तिहरू भएको पनि बताइएको छ । अमेरिकासँग सन् २००१ मा मान्छेविहीन युद्धविमान जम्माजम्मी ५० वटा थिए भने अहिले यो संख्या झन्डै दुई सय पुगिसकेको छ । तर, सिआइएले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । अहिले अमेरिकाले सयवटा साना नानो मान्छेविहीन युद्ध विमानहरू बनाउने योजना बनाइरहेको छ । जुन नानो ड्रोअनहरू मौरीको आकार र साइजका हुनेछन् । जसले घरका झ्यालबाट भित्र पसेर मान्छे मार्न सक्नेछ ।
वैज्ञानिकहरूलाई यसप्रकारको शक्तिशाली नानो ड्रोअनहरू बनाउन सरकारले अनुमति दिइसकेको छ । यस प्रकारका युद्ध हतियारहरू बनाउन खास गरी सरकारले सार्वजनिक रूपमा छलफलमा ल्याउनुपर्छ तर उक्त नानो ड्रोअनहरू बनाउन अहिलेसम्म कुनै सार्वजनिक छलफल गरिएको छैन । यो प्रविधि एकदमै नयाँ हो र यसलाई कसैले जित्न वा छेक्न सक्ने छैन । न त हावा, हुरी, बतास न पहाड, माटो केहीले पनि छेक्न सक्ने छैन । अर्थात् कुनै पनि भौगोलिक अवस्थाले यसलाई रोक्न सक्ने छैन । नानो ड्रोअनमार्फत अमेरिकाले करोडौँ मान्छे मार्न सक्नेछ तर उसको केही पनि नोक्सान हुनेछैन र उसलाई कसैले पनि रोक्न सक्ने छैन । अर्को कुरा के भने अमेरिकाले आफ्नो युद्धलाई विश्वसामु पारदर्शी बनाएको छैन थुप्रै ठाउँ जहाँ युद्ध भएको छैन र जहाँ न्युक्लियर पावर छन् ती ठाउँमा यी मान्छेविहीन युद्ध विमानहरूले आक्रमण गरेर मान्छेहरू मार्दै आइरहेको छ ।

प्रतिक्रिया