राईको कार्यक्रममा नजान एमालेको निर्देशन

उदयपुर, ३० साउन । नेकपा (एमाले) उदयपुरले पार्टीका उपाध्यक्ष अशोक राईले सम्बोधन गर्ने कार्यक्रममा नजान कार्यकर्तालाई निर्देशन दिएको छ । मंगलबार गाईघाटमा हुने कार्यक्रममा सहभागी नहुन एमालेले निर्देशन दिएको हो ।

पार्टीभित्रकै अग्रगामी विचारसमूहका नाममा सांगठनिक दौडाहामा निस्किएका नेकपा (एमाले) का उपाध्यक्ष अशोक राई सोमबार साँझ गृहजिल्ला उदयपुरको सदरमुकाम गाईघाटमा आइपुगेका छन् ।
विचारसमूहकै नेतृत्व गरेर दौडाहामा जुटेका उपाध्यक्ष राई पछिल्ला दिनमा पार्टीभित्रको जातीय संगठनको छायामा विचारसमूहलाई सशक्त पार्न सक्रिय छन् । मंगलबार आयोजना गरिने नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न राईसहित रामचन्द्र झा, रिजवान अन्सारी र राजेन्द्र श्रेष्ठ गाईघाट आइपुगेको नेकपा (एमाले) जिल्ला कमिटी सदस्य सिद्धान्त राईले बताए ।
पार्टीभित्रको अन्तरद्वन्द्व चर्किएर सांगठनिक कारबाहीमा परिसकेपछि जनजातिनिकट संगठनको कार्यकर्ता भेला भन्दै उपाध्यक्ष राई विचारसमूहको सुदृढीकरणमा जुटेका हुन् । महासंघआबद्ध कार्यकर्ता भेला भनिए पनि अग्रगामी विचारसमूहका विद्यार्थी नेतृत्व गरेका अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य शैलेश लामा, सरोज यादव र केन्द्रीय सदस्य रवि बिसीसमेत गाईघाट आइपुगेका छन् । सचिवालय सदस्य यादवले विचारसमूहकै नेतृत्व गर्दै आफू कार्यक्रममा सहभागी हुने बताएको अनेरास्ववियुका केन्द्रीय सदस्य महेश रोकाले जानकारी दिए ।
यसैबीच गृहजिल्लामा आयोजना गरिन लागेको भेलाबारे पार्टीलाई कुनै जानकारी नभएको भन्दै सहभागी नहुन नेकपा (एमाले) उदयपुरले कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी सचिवालयको सोमबार साँझ सम्पन्न बैठकले विचारसमूहका नाममा जातीय गुटबन्दी गरेकाले भेलामा जाने कार्यकर्तालाई फोनमार्फत रोक्न सुरु गरिएको छ ।

प्रतिक्रिया