कामै नगरी १६ लाख भुक्तानी

नेपालगन्ज, ३० साउन । कागजी काम देखाएर जिल्ला विकास समिति बाँकेमा १६ लाख रुपियाँ भ्रष्टाचार भएको छ । गत आर्थिक वर्षको मसान्तमा हयुम पाइप खरिद गरेको देखाएर जिविसका कर्मचारीले १५ लाख ९२ हजार चार सय ५२ रुपियाँ भ्रष्टाचार गरेका हुन् ।

बाँकेका एलडिओ विश्वराज डोटेल, डिभिजन इन्जिनियर सानुकाजी कार्की, इन्जिनियर रामबहादुर थापा, लेखा अधिकृत प्रकाश आचार्य, स्टोरकिपर पुष्प श्रेष्ठको मिलेमतोमा रकम भ्रष्टाचार भएको हो । जिविस कर्मचारीले उप्रेती पोल एन्ड पाइप इन्डस्ट्रिजबाट असार महिनामा नौ लाख ९५ हजार चार सय ७३ रुपियाँको हयुम पाइप खरिद गरेको कागजातमा देखाएका छन् । वागेश्वरी पोल एन्ड पाइपबाट पनि पाँच लाख ९६ हजार नौ सय ६९ रुपियाँको हयुम पाइप खरिद गरेको देखाइएको छ । खरिद गरिएको हयुम पाइप कहीँ पनि प्रयोग गरिएको छैन । तर उनीहरूले करिब १६ लाख रुपियाँ उप्रेती पोल एन्ड पाइप इन्डस्ट्रिज र वागेश्वरी पोल एन्ड पाइपलाई भुक्तानी गरेको देखाएर भ्रष्टाचार गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इकाइ नेपालगन्जले जिल्ला विकास समितिबाट विभिन्न कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले जिविसका इन्जिनियरसहित केही कर्मचारीलाई पत्र पनि काटेको छ ।
अख्तियार इकाइ नेपालगन्ज प्रमुख देवराज भारतीले हयुम पाइप खरिद गरेको देखाएर रकम निकासा गरेको देखिएको जानकारी दिए ।
जिल्ला विकास समिति बाँकेका एलडिओ विश्वराज डोटेलले हयुम पाइप खरिद गरेर भुक्तानी पनि गरिसकेको तर हयुम पाइप उद्योगमै राखिएको दाबी गरेका छन् । रकम हिनामिना नगरेको दाबी गर्दै आवश्यकताअनुसार ल्याउने गरी पाइप उद्योगमै छाडेको उनले बताए ।

प्रतिक्रिया