भारतमा आठ तीर्थयात्रीको मृत्यु

धनुषा, ३० साउन । जनकपुरबाट भारतमा तीर्थयात्रामा गएका सवार बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । यस्तै, बाराको लिपनीमालमा बोर्डिङ स्कुलको बस शिक्षकले चलाउँदा १८ विद्यार्थी घाइते भएका छन् ।

तीर्थयात्री सवार ज १ ख ६७८ नम्बरको बस भारतको सीतामाढीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । दुर्घटनामा ३६ जना घाइते भएका छन् । भारतको झारखण्डस्थित बाबाधाम तीर्थस्थलमा जल चढाएर फर्किंदै गरेको बस सीतामाढीको सुरसण्ड थाना क्षेत्रको लज १०४ सडकखण्डमा पुलबाट नदीमा झरेको हो । बस निर्माणाधीन पुलमा पुगेपछि फर्काउने क्रममा पुलबाट नदीमा खसेको हो ।
दुर्घटनामा अरुण यादव, मनोज राय, प्रेमशीला देवी, बिल्टुन देवी, बसिन्द्र यादव, धर्मनाथ यादव, रामदयाल यादवको मृत्यु भएको सितामाढी प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा घाइते २३ जनाको सीतामाढी सदर अस्पतालमा उपचार भइरहेको छ भने १३ जनाको महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सोमारी देवी, राधेश्याम राय, सुवास राय, शिवशक्ति देवी, उमर देवी, फगुनी देवीलगायतका घाइतेको भारतमा उपचार भइरहेको छ । यस्तै, राजवती देवी, लक्ष्मेश्वर साह, गौरीदेवी राय, पारोदेवी मण्डल, प्रमिला देवी, सुमनकुमारी तथा रामकुमारीलगायतका घाइतेको जलेश्वरमा उपचार भइरहेको एसपी सुरज केसीले बताए । तीर्थयात्री बोकेको बस दुर्घटनाग्रस्त भएको खबर आउनासाथ भारतीय प्रहरी तथा स्थानीय उद्धारमा जुटेका थिए ।
यस्तै, बाराको लिपनीमालमा विद्यालयका शिक्षकले बस चलाउँदा दुर्घटना भएको छ र १८ विद्यार्थी घाइते भएका छन् । पर्साको लालपर्सा गाविसमा रहेको लिटिल फ्लावर स्कुलको ना २ ख ७२३ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार विद्यार्थी घाइते भएका हुन् । बाराको रामपुरटोकनी, परवानीपुरलगायतका क्षेत्रबाट स्कुलका बालबालिका लिएर स्कुल गइरहेको बस लिपनीविर्तामा पल्टिएको हो । बसका चालक नभएका कारण विद्यालयका शिक्षक अतुल क्रिस्चनले बस हाँकेका थिए । भारतीय नागरिक अतुलसँग चालक अनुमतिपत्र नभएकोले उनी दुर्घटनालगत्तै फरार भएको पर्सा प्रहरीले जनाएको छ ।
सोमबार बिहान ९ बजेतिर दुर्घटना भएपछि ना ४ ख ३६५३ नम्बरको विद्यालयको अर्को बसले घाइते विद्यार्थीलाई उद्धार गरेको हो । घाइतेको वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भएको छ ।
यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङको पीडा घाटबेसीमा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बर्दिवासबाट काठमाडौं आउँदै गरेको ना ३ ख १९८९ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा परेर घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया