लोकतान्त्रिक शक्तिले निकास दिनुपर्छ

पर्सा, २९ साउन । एमालेका नेता केपी ओलीले लोकतान्त्रिक शक्तिहरु मिलेर राजनीतिक निकास दिनुपर्ने बताएका छन् ।
वीरगञ्जमा आज पत्रकारसँग कुरा गर्दै उनले लोकतान्त्रिक शक्तिले मात्रै मुलुकलाई सहमति र सहकार्यमा लैजान सक्ने बताए । सहमतीय सरकारले निर्वाचनको मिति घोषणा गरेर संविधानसभाको काम गर्न अधिकार दिनुपर्ने बताएका ओलीले अब संसदीय निर्वाचन नै गर्नु पर्ने बताए ।
राष्ट्रिय सहमतिको सरकार नबनेसम्म कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई वालुवाटारमै बस्दा कुनै आपत्ति नहुने उनको भनाई छ ।
सत्तारुढ दलले संविधानसभा नै समाप्त गरी राजनीतिक संकट निम्त्याएको बताएका ओलीले एमाओवादी सहितका दलले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । उनले संविधानसभाको पुनःस्थापना कुनैपनि हालतमा हुन नसक्ने दोहराए ।
नेता ओलीले राष्ट्रिय सहमतिको सरकार गठनमा बाधा नपुग्ने गरी भट्टराई बालुवाटारमै बस्न सक्ने बताए ।
एकल जातीय पहिचानका आधारमा संघीयता कुनै हालतमा स्वीर्काय नहुने पनि ओलीको भनाई छ ।

प्रतिक्रिया