काठमाडौं : विदेशमा सिद्धहस्त स्टन्ट्म्यानहरूले देखाउने गरेको जिप फ्लायरको दृश्य अब नेपाली चलचित्रमा पनि देखिने भएको छ । अहिलेसम्म अरू कुनै नेपाली चलचित्रमा नदेखिएको यो दृश्य समेटेको हो, चलचित्र वे टु इन्जुरीले । ज्यानको बाजी लगाउनुपर्ने जिप फ्लायरको खेल आफैँमा खतरा मोल्नुसरह हो । ‘अहिलेसम्म अरूले यस्तो दृश्य समेटेका छैनन्, त्यसैले मैले आफ्नो चलचित्रमा राखेको हुँ’, निर्माता प्रेम खड्गीले भने । एड्भेन्चरस विषयवस्तु भएकाले बन्जी जम्पिङ, प्याराग्लाइडिङ, र्याफ्टिङ र बोटिङ पनि समेटिएको उनले जानकारी दिए ।
प्रेषिका फिल्म्स प्रालिको ब्यानरमा अहिले प्राविधिक कार्य चलिरहेको चलचित्र निर्देशन अमर ओलीले गरेका छन् भने सीता क्षत्री पनि निर्माता छिन् । सागर क्षत्री, अमृत क्षत्री, एन्जिला कार्की, भरत पोखरेल, एलिना श्रेष्ठ, प्रिया केसीलगायत कलाकार मुख्य भूमिकामा छन् । अमृत क्षत्रीको कथा, दीपक शर्माको संगीत, अष्ट महर्जनको द्वन्द्व, वीरेन्द्रप्रसाद भट्टको छायांकन छ । २४ वटा लोकेसन समेटिएको यो चलचित्रमा ३४० केजी तौलका ३००० भन्दा बढी अस्ट्रिच चराहरूको भिडमा गएर खिचिएका दृश्य पनि रहेको निर्माण पक्षले जानकारी दियो, ‘घुम्न निस्किएका पाँच साथी दुर्घटनामा पर्दा एकको मृत्यु भएपछि उत्पन्न समस्याको सेरोफेरोलाई एक्सन एवं थ्रिलर शैलीमा प्रस्तुत गरिएको छ ।’ (रुद्र कडेल, प्रशिक्षार्थी)
प्रतिक्रिया