ग्यास वार्ता स्थगित

काठमाडौं, २९ साउन । सरकार र ग्यास उद्योगीबीच आइतबार भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ । समय अभाव भएको भन्दै आइतबारको वार्ता सोमबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको एलपी ग्यास उद्योग संघका कार्यवहाक अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

कमिसन बढाउनेसहितका १६ बुँदे माग अघिसार्दै आन्दोलनमा उत्रिएको एलपी ग्यास उद्योग संघको हडतालले उपत्यकामा ग्यास अभाव सुरु भएको थियो । एलपी ग्यास उद्योगीले आफ्ना मागप्रति सरकार र आयल निगम उदासीन भएको भन्दै बुधबारबाट भारतबाट नेपालको भन्सार नाकामा आएका ग्यासका टयांकरका क्लियरेन्स रोकिदिएपछि उपत्यकामा ग्यासको अभाव खड्किन थालेको हो ।
उद्योगीको आन्दोलनका कारण पटकपटक ग्यासको अभाव झेलेका उपत्याकाबासीले फेरि ग्यास अभावको चेपुवामा परेका हुन् । एलपी ग्यास उद्योग संघले सरकारले आफ्ना १६ बुँदे माग पूरा नगरेको भन्दै बुधबारबाट भारतबाट नेपालको भन्सार नाकामा आएका ग्यासका टयांकरको क्लियरेन्स बन्द गरेको छ । साउन २३ गते आयल निगमबाट प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) खरिद प्रक्रिया बन्द गर्ने निर्णय गरिसकेको संघले २४ गतेबाट भारतीय आयल निगममा ग्यास भर्ने कार्य बन्द गरेको थियो । संघले सरकारले अझै पनि आफ्ना मागबारे सकारात्मक पहल नगरे साउन ३१ बाट मुलुकभर ग्यास बिक्रीवितरण बन्द गर्ने चेतावनी यसअघि नै दिइसकेको छ ।
सरकारले हालै उद्योग र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै ग्यासको रङ नीलो र रातो बनाउने निर्णय गरेपछि संघले पाँच प्रतिशत वृद्धि गर्नुपर्ने, सरकारको निर्णय खारेज गर्नुपर्ने र उद्योगीलाई सहुलियत दिनुपर्ने माग राखेर आन्दोलन थालेको हो । उपत्यकामा अहिले लगभग १५ हजार मेट्रिक टन ग्यास सिलिन्डर खपत हुनेगर्छ भने जाडोयाममा १८ हजार मेट्रिक टन खपत हुने गरेको छ ।
उद्योगीको आन्दोलनका कारण पटकपटक ग्यासको अभाव हुनेगरेकाले सरकारले ग्यास उद्योगीलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको थियो । नेपाल आयल निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले अत्यावश्यक वस्तु ग्यासमा हडताल गरेर उपभोक्तालाई मारमा नपार्न आग्रह गर्दै उद्योगीलाई वार्तामा आउन आह्वान गरेको हो । निगमले वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

प्रतिक्रिया