गृहिणी शिक्षामा ३७ लाख भ्रष्टाचार

हेटौंडा, २९ साउन । मकवानपुरमा सञ्चालन गरिएको गृहिणी शिक्षा कार्यक्रममा ३७ लाख रुपियाँभन्दा बढी भ्रष्टाचार भएको छ । गृहिणी शिक्षा सञ्चालन गरिरहेको संस्था महिला सीप विकास केन्द्रकै सचिव लक्ष्मी गौतमले गृहिणी शिक्षामा ठूलो रकम भ्रष्टाचार भएको खुलासा गरेकी हुन् ।

संस्थाकी अध्यक्ष रीता खनालले नक्कली कागजपत्र बनाएर ३७ लाख ३२ हजार रुपियाँ खर्च नै नगरी हिनामिना गरेको सचिव गौतमले बताइन् । गौतमसहित हेटौंडामा भेला भएका गृहिणी कक्षामा आबद्ध महिलाले केन्द्रबाट गरिएको खर्चको हरहिसाब पारदर्शी गरिनुपर्ने माग गरेका छन् । केन्द्रले मकवानपुरका ११ विद्यालयमा गृहिणी कक्षा सञ्चालन गरिरहेको छ । गृहिणी शिक्षाको सहजकर्ताको तलब र शैक्षिक सामग्री जिल्ला शिक्षा कार्यालय मकवानपुरले उपलब्ध गराउँदै आएको छ ।
संस्थाको वार्षिक आयव्यय विवरणमा राखिएको खर्च अस्वाभाविक भएको र यसको हिसाबकिताब पारदर्शी गरिनुपर्ने सचिव गौतमले दाबी गरिन् । उनले अध्यक्ष र कोषाध्यक्षद्वारा हस्ताक्षरित आव २०६७/०६८ को वार्षिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित आयव्यय विवरणमा आफ्नो असहमति रहेको भन्दै सञ्चारकर्मीमाझ सार्वजनिक गरिन् । लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको खर्च संस्थाले गर्दै नगरेको दाबी गरिएको छ ।
‘संस्थालाई विदेशबाट सहयोग आएको छ,’ गौतमले भनिन्, ‘तर, संस्थाले रकम खर्च गरेको छैन ।’ संस्थाले आधुनिक राष्ट्रिय माविमा सञ्चालन गरेको गृहिणी शिक्षाकी सहजकर्ता गीता मैनालीले संस्थाबाट कुनै पनि सहयोग नपाएको बताइन् । ‘वार्षिक २० हजार रुपियाँ तलब शिक्षा कार्यालयले दिन्छ,’ मैनालीले बताइन्, ‘शैक्षिक सामग्री पनि कार्यालयबाटै आउँछ, संस्थाले केही दिएको छैन ।’
संस्थाको लेखापरीक्षण प्रतिवेदनमा गृहिणी शिक्षाको प्रचार, शैक्षिक सामग्री छपाइ, वृत्तचित्र निर्माण, यातायात शीर्षकमा अस्वाभाविक खर्च देखाइएको गृहिणी महिलाको आरोप छ । सचिव गौतमले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनमा गृहिणी शिक्षाका लागि माइकिङ, वाल पेन्टिङ, एफएम रेडियो प्रचारप्रसार खर्च ११ लाख ३६ हजार, तीज खर्च ८४ हजार, यातायात खर्च एकलाख ९० हजार, बाख्रा वितरण आठ लाख ३५ हजार, वृत्तचित्र निर्माण खर्च दुई लाख २५ हजार, किताब छपाइ र जापानी भाषामा उल्थाका लागि चार लाख ७४ हजार रुपियाँ, ब्रोसर छपाइका लागि दुई लाख, गृहिणी शिक्षा शैक्षिक सामग्रीका लागि एक लाख ६० हजार, तालिम खर्च तीन लाख दुई हजार पाँच सय, गृहिणी शिक्षा जिल्ला सम्मेलन ७१ हजार तीन सय रुपियाँ खर्च उल्लेख गरिएको छ । उल्लेखित कुनै पनि शीर्षकमा त्यति रकम खर्च नभएको संस्थाले जनाएको छ । ‘चुरियामाई गाविसका महिलालाई ३० वटा बाख्रा वितरण गरिएकोमा ३० वटा बाख्राको आठ लाख ३५ हजार लेखिएको छ,’ सचिव गौतमले भनिन् ।
संस्थाको आम्दानीतर्फ जिल्ला शिक्षा कार्यालयबाट प्राप्त ३० हजार, व्यक्तिगत सहयोग ११ लाख ६ हजार तीन सय ९२, जापानी सहयोगीबाट आठ लाख ३७ हजार ६ सय र एपिसी जापानबाट १७ लाख ३८ हजार ३८ रुपियाँ सहयोग प्राप्त भएको देखाइएको छ । केन्द्रको आर्थिक प्रतिवेदन काठमाडौंको दीपक कार्की एन्ड एसोसिएटका तर्फबाट लेखापरीक्षक दीपककुमार कार्कीले तयार पारेका हुन् ।
लुम्बिनी बैंक हेटौंडा शाखामा रहेको संस्थाको बैंक खाताबाट एकमुष्ट रूपमा ठूलो रकम झिकिएको देखिन्छ । १७ असोज ०६७ मा कोषाध्यक्ष गीता अर्यालको नाममा ११ लाख रुपियाँ झिकिएको देखिन्छ । साथै, ताराप्रसाद खनालको नाममा २५ असोजमा आठ लाख ३५ हजार रुपियाँ
झिकिएको देखिन्छ ।
यसअघि संस्थाको खातामा नबिल बैंक हेटौंडामार्फत् ११ लाख ६ हजार र आठ लाख ३७ हजार ६ सय रुपियाँ जम्मा भएको देखिन्छ । साथै, एक जापानी सहयोगी संस्था एसपिसी जापानबाट ६ माघ ०६७ मा संस्थाको खातामा जम्मा भएको १७ लाख ३८ हजार रकम पनि यदुप्रसाद खनालको नाममा माघ ११ र १९ गते क्रमश: १० लाख ३२ हजार र सात लाख रुपियाँ झिकिएको बैंक स्टेटमेन्टबाट देखिन्छ ।
केन्द्रकी अध्यक्ष रीता खनालले सचिव गौतमले व्यक्तिगत रिसइबीका कारण संस्थाको गोप्य विवरण सार्वजनिक गरेको बताइन् । उनले आफ्नो जीवन नै गृहिणी शिक्षामा अर्पण गरेको बताउँदै चरित्र हत्यामा केही सुनियोजित ढंगमा लागेको बताइन् । उनले हेटौंडाका एफएमलाई ११ लाखको विज्ञापन दिएको प्रतिवेदन बनाए पनि हेटौंडाका एफएमले त्यति पैसा पाएको बताएका छैनन् । पत्रकारकै नाममा खनालले ठूलो पैसा खर्च गरेको पाइएको छ । खनालले हेटौंडा गएर पत्रकार सम्मेलन गर्ने बताएकी छिन् ।

प्रतिक्रिया