प्रमुख एक महिनादेखि बाहिरै

नेपालगन्ज, २९ साउन । पूर्व निमित्त प्रमुखले ताला लगाएपछि भेरी अञ्चल अस्पताल नेपालगन्जका नवनियुक्त प्रमुख डा. विनोद खेतान एक महिनादेखि कार्यालय छिर्न पाएका छैनन् ।

पूर्व निमित्त प्रमुख डा. नरेन्द्र रायले अस्पताल प्रमुखको कार्यकक्षमा ताला लगाएर साँचो लगेपछि खेतान कार्यालयमा छिर्न नपाएका हुन् । उनी कहिले डाक्टरको बैठक कोठा त कहिले अन्य विभागीय कार्यकक्षमा बसेर अस्पतालका दैनिक प्रशासनिक कामकाज गरिरहेका छन् । भिडभाड र होहल्लाबीच अरूको कोठामा बसेर काम गर्दा समस्या भइरहेको खेतानले दुखेसो पोखे ।
‘स्वास्थ्य मन्त्रालयले निमित्त प्रमुखको जिम्मेवारी दिइसकेपछि डाक्टर रायले कार्यालयको साँचो दिन मान्नुभएको छैन,’ खेतानले भने, ‘झन्डै एक महिना पुग्यो, कार्यालयमा एकचोटि बस्न पाइएको छैन ।’ प्रमुखको कार्यकक्ष एक महिनादेखि बन्द भएपछि डा. खेतानले अस्पतालको प्रशासनिक तथा सेवासम्बन्धी महत्त्वपूर्ण कागजात अध्ययन गर्न पाएका छैनन् ।
‘बाहिर कोठामा कर्मचारीसँग मिटिङ त हुन्छ तर महत्त्वपूर्ण कागजात दराजमै रहेकाले त्यस्ता बैठक औपचारिकतामा सीमित भइरहेका छन्,’ खेतानले भने, ‘कार्यकक्षमा बस्न नपाएपछि काम गर्न कठिन भइरहेको छ ।’
डा. राय एक वर्षअघि अस्पतालको निमित्त प्रमुखमा नियुक्त भएका थिए । उनी अस्पताल प्रमुखमा नियुक्त भएपछि अस्पतालमा विवाद बढेको थियो । भ्रष्टाचार, कर्मचारीलाई जथाभावी सरुवा गरेको भन्दै रायको विरोधमा कर्मचारी आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले १ साउनमा अर्को व्यवस्था नभएसम्म मन्त्रालयमा काज बोलाएको थियो ।
रायले आफूलाई विशेष कामले मन्त्रालयमा बोलाइएको र त्यो अवधिका लागि मात्र खेतानलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको दाबी गर्दै उनी गत आइतबार अस्पतालमा हाजिर भएका थिए । तर, सोही दिन स्वास्थ्य मन्त्रालयले डा. रायलाई उनी कार्यरत रहेको सोही अस्पतालको स्नायु तथा मानसिक रोग विभागमा काम गर्न निर्देशनसहितको पत्र पठाएको नवनियुक्त निमित्त प्रमुख खेतानले बताए ।
‘उहाँलाई निमित्त प्रमुखको पदमा होइन, स्नायु तथा मानसिक रोग विभागमा काम गर्न स्वास्थ्य मन्त्रालयले भनेको छ,’ खेतानले भने । मन्त्रालयले पत्र पठाएपछि राय अस्पतालमा हाजिर भएका छैनन् ।

प्रतिक्रिया