काभ्रे, २९ साउन । दाप्चामा चोरहरूको बिगबिगी बढेपछि स्थानीय रात्रिगस्ती सुरु गरेका छन् । गस्तीका क्रममा स्थानीयले चोरी कार्यमा संलग्न समूहलाई पनि नियन्त्रणमा लिएका छन् । स्थानीयले डराउने पोखरी–८ का ३० वर्षीय दीपक रम्तेल, उनका भतिजा २२ वर्षीय सन्तोष र १० वर्षका ध्रुवलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ ।
शुक्रबार राति डाँडागाउँमा चोरी गरेर भाग्दै गरेको अवस्थामा बिपी राजमार्गको बेलाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूसँग चोरीको मोटरसाइकलसमेत बरामद भएकाले प्रहरीले गिरोहलाई सार्वजनिक गरेको छैन । ‘अनुसन्धान जारी भएकाले थप कुरा आउन बाँकी छ,’ जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले भने ।
स्थानीयले पक्रेका आकाश गुरुङ र सुवास भ्लोनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखेको छ । गुरुङ, भ्लोन र मिलन भन्नेले भकुन्डेलगायत स्थानमा चोरी गरेका सामान भाग लगाउने क्रममा विवाद भएपछि स्थानीयले फेला पारेका थिए । सोही रात उनीहरूले डाँडागाउँमा केही घरमा चोरी गरेका थिए । भकुण्डेका सुरेन्द्र चिमौरिया र यादव अधिकारीको पसलबाट मोबाइल र कम्प्युटरका सामान चोरी भएका थिए । उनीहरूसँग फेला परेको बा ४५ प ३०९० नम्बरको मोटरसाइकललाई ज ४५ प ३१९१ बनाएर प्रयोग गर्दै आएको पाइएको छ । पनौतीबाट चोरी गरेको मोटरसाइकल धनी पत्ता लगाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
डराउनेपोखरीकै काले सार्कीको घरबाट चोरी भएका खड्कौला, गाग्री र अन्य भाँडाकुँडा सोहीस्थानका रम्तेलको योजनामा चोरी भएको प्रहरीले जानकारी दिएको छ । सार्कीका घरबाट भाँडाकुँडा चोरेर बनेपा ल्याई बिक्री गरेको प्रहरीले जानकारी दिएको छ । गाउँलेले चोरीको योजनाकार रम्तेललाई धुलिखेलको श्रीखण्डपुरस्थित डेराबाट स्थानीयको सहयोगमा पक्राउ गरेका थिए । प्रहरी देखेर रम्तेल भागेपछि स्थानीय र प्रहरीले एक किलोमिटर टाढाबाट पक्राउ गरेका थिए । रम्तेल पक्राउ गरेलगत्तै स्थानीयले सन्तोष र ध्रुवलाई पक्राउ गरेका थिए । ध्रुवले चोरी गरेको स्विकारेपछि स्थानीयले पक्रेर प्रहरीलाई बुझाएको स्थानीय उपेन्द्र अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया