दस लाखको मेकअप

मुम्बई : लामो ग्यापपछि बलिउड नायिका रानी मुखर्जी चलचित्रमा फर्कने सुरसार गर्दै छिन् । अहिले उनको हातमा छ चलचित्र– अइया । लामो समयपछि फर्कन लागेको चलचित्रमा आफू सकेसम्म राम्री देखिने तयारी रानीले गरेकी छन् । उनले गेटअप र मेकअपलगायत हरेक कुरामा निकै ध्यान दिने गरेकी छन् । तर, उनको यही इच्छा निर्माताका लागि भने टाउको दुखाइ बनेको चर्चा बलिउड सञ्चारमाध्यमले गरेका छन् ।
गेटअपमा फरक–फरक स्टाइल अपनाउँदै छिन् उनी । फिगरदेखि कपालसम्मलाई स्टाइलिस शैलीमा प्रस्तुत गर्छिन् । तर, यी सबै गर्न उनी खर्चचाहिँ प्रोडुसरलाई गराइरहेकी छन् । एजेन्सीले बताएअनुसार हालसालै भएको एक गीतको छायांकनमा उनले निर्मातालाई दस लाख रुपियाँको नोक्सानी पुर्‍याइन् । त्यो गीतका लागि उनले बनाएको हेयर स्टाइल र मेकअपमा यति धेरै पैसा खर्च भएको हो ।
यो गीतका लागि उनले आठ–दसचोटि मेकअप गराइन् । तर, कुनैमा पनि उनी सन्तुष्ट भइनन् । जति नै मेकअप गरे पनि उनले सोचेजस्तो आकर्षक हुन नसकेको एजेन्सीले चर्चा गरेको छ । तर, यो मेकअपले निर्माताको दस लाख भने चट भइसकेको थियो । (एजेन्सी)

प्रतिक्रिया