मौलायो ढुकुटी कारोबार

चितवन, २८ साउन । चितवनमा ढुकुटीको कारोबार बढेर गएको छ । स्थानीय टोलका महिलादेखि नारायणगढ, टाँडी र अन्य साना बजारका व्यापारी, घरानिया र व्यवसायी ढुकुटी कारोबारमा संलग्न भएको पाइएको छ ।

चितवनमा ५४ करोड रुपियाँभन्दा बढीको ढुकुटीको कारोबार भएको प्रहरीको अनुमान छ । तर यो भन्दा पनि बढीको ढुकुटीको कारोबार भइरहेको ढुकुटीमा आवद्धहरू बताउँछन् । दैनिकदेखि मासिकसम्मका ढुकुटीका कारोबार हुने गरेको र एकै किस्तामा एक करोड रुपियाँसम्मका कारोबार हुने गरेको व्यवसायीहरू बताउँछन् । ठूला कारोबार गर्नेमा नारायणगढ बजारका ठूला व्यापारी छन् भने पछिल्लो समय पोल्ट्री व्यवसायी, जग्गा व्यवसायी, वैदेशिक रोजगारीमा रहेकाका परिवार एवम् उनीहरूका पत्नी पनि ढुकुटी कारोबारमा संलग्न छन् ।
ढुकुटीको कारोबार राम्रो नहुँदा खेलाउने घोप्पा र खेल्ने ग्राहकको उठीवास भएका उदाहरण पनि सार्वजनिक हुन थालेका छन् । कतिपय घोप्पाले ढुकुटीकै कारण व्यवहार बिग्रिएपछि ठाउँ नै छोडेर कोही परिवारसहित त कोही एक्लै फरार हुने गरेको पाइएको छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई ढुकुटीलाई निरुत्साहन गर्न नसकिएको बताउँछन् । उनी भन्छन्, ‘अवैध ढंगबाट हुने कारोबारलाई संरक्षण गर्न सकिन्न तर नियन्त्रण पनि हुन सकेको छैन ।’ राज्यमा हुने सबै आर्थिक कारोबार वैध तरिकाले हुनुपर्ने उनको भनाइ छ ।
अवैध ढंगबाट ढुकुटीको कारोबार हुँदा राज्यको नीतिनियमअन्तर्गत रहेर सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थामा नकारात्मक प्रभाव परेको यस क्षेत्रका विज्ञको भनाइ छ । बैंक तथा वित्तीय संस्था समन्वय समिति चितवनका संयोजक दक्षप्रसाद श्रेष्ठ अवैध ढंगबाट ढुकुटीको कारोबार हुँदा वैधानिक तवरले सञ्चालित बैंक तथा वित्तीय संस्थामा प्रभाव परेको बताउँछन् ।
राजस्व छली मात्र नभएर ढुकुटीकै कारोबारबाट आफूले चिनेका केही व्यक्तिको उठीवास लागेको शुभेच्छा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका श्रेष्ठको भनाइ छ । ढुकुटीका कारण बैंकमा ब्याजदर, निक्षेप संकलन, ऋण प्रवाहलगायतमा प्रभाव पर्ने गरेको उनले बताए ।
बजारमा ढुकुटीमार्फत रकम संकलन हुने र अवैध ढंगबाट हुन्डीमार्फत पैसा देशबाहिरिने गरेको छ । चितवनको प्रमुख बजार नारायणगढका अधिकांश व्यवसायीले भारतका विभिन्न बजारबाट सामान खरिद गर्छन् । यसरी अवैध बाटोबाट पैसा बाहिरिँदा राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको बैंकर्सहरूको भनाइ छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ढुकुटी खेलको विषयमा देशभर अनुसन्धान थालिरहेका बेला जिल्ला प्रहरी कार्यालय चितवनले पनि अनुसन्धानका लागि टोली गठन गरेर काम थाल्ने तयारी गरेको छ । डिएसपी रवि पौडेलले ढुकुटीबारे अनुसन्धान भइरहेको र छिट्टै टोली गठन गरेर कारबाही प्रक्रिया अगाडि बढाइने बताए । राजधानीपछि ठूलो ढुकुटीको कारोबार चितवनमा हुन सक्ने बताउँदै उनले अवैध कारोबारलाई निरुत्साहन गर्न चितवन प्रहरी सक्रिय हुने बताए ।
चितवनका सिडिओ हिमनाथ दवाडीले केन्द्रबाट निर्देशन आइनसकेकोले कारबाही प्रक्रिया अगाडि बढ्न नसकेको बताए । राष्ट्र बैंकले गरेको सर्वेक्षण प्रतिवेदनअनुसार काठमाडौं, पोखरा र वीरगन्जमा मात्र १० हजारभन्दा बढी ढुकुटी सञ्चालनमा रहेका छन् । अन्य प्रमुख आठ सहरमा मात्र पाँच अर्ब १८ करोड रुपियाँको कारोबार ढुकुटीबाट भइरहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि यो संख्या दोब्बरभन्दा बढी रहेको अनुमान गरिन्छ । प्रतिवेदनअनुसार, वीरगन्जमा ४९ करोड रुपियाँ, धरान र विराटनगरमा ४० करोड रुपियाँ, धनगढी र महेन्द्रनगरमा आठ करोड रुपियाँको कारोबार भइरहेको अनुमान छ ।
चितवनमा सानो रकमको ढुकुटीमा बहुसंख्यक महिला रहेको भए पनि ठूला ढुकुटीमा भने पुरुषकै बाहुल्यता रहेको व्यवसायीको भनाइ छ । साना ढुकुटी सञ्चालन गरेकाहरू कानुनी प्रक्रिया थाहा नहुँदा ढुकुटी खेलाउने गरेको बताउँछन् । ढुकुटी खेलाउनेलाई राष्ट्र बैंक ऐनअनुसार अनुमति नलिई निक्षेप संकलन गरेको अभियोगमा कारबाही हुन्छ । अभियोगमा तीन वर्षसम्म कैद तथा बिगोको तीनगुणासम्म जरिवानाको प्रावधान छ ।

प्रतिक्रिया