सरकार नेतृत्वको दाबी अरुको पनि हुन्छ

काठमाडौं, २७ साउन । प्रमुख दलका शीर्ष नेताहरुले मुलुकको गतिरोध अन्त्यमा बाधक भएको भन्दै एकअर्कालाई दोषारोपण गरेका छन् ।
यद्यपि उनीहरुले निकासका लागि लागि दलवीच सहमतिको विकल्प नभएको स्वीकार गरेका छन् । नेकपा–माओवादीले ललितपुरमा आज आयोजना गरेको अन्तक्र्रियामा बोल्ने शीर्ष नेताहरुले सहमतिका लागि आ–आफ्ना दलीय अडान भने यथावत दोहराए ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस÷एमालेका कारण संविधानसभा जोगाउन नसकिएको आरोप लगाए । उनले कांग्रेस÷एमाले मतदानको प्रक्रियामा जान नमानेपछि संविधानसभा विघटन गर्न बाध्य भएको दाबी गरे ।
उनले पाँच बुँदे सहमति अनुसार कांग्रेस÷एमाले संविधान जारी गर्न तयार देखिए सरकार छाड्ने स्पष्ट पारे । ‘सहमति नमान्ने हो भने पाँच बुँदे सहमतिको औचित्य समाप्त भईसकेको छ,’ दाहालले भने, ‘अब सरकारको नेतृत्व जुन दलले पनि दाबी गर्न सक्छ ।’
उनले संविधानसभा पुनःस्थापना गरेर जाने भए कांग्रेसलाई सरकारको नेतृत्व दिन सकिने पनि बताए । यद्यपि उनले कांग्रेसलाई चुनावी सरकारको नेतृत्व गर्न दिन नसकिने बताए ।
दलहरुवीच पहिचान सहितको संघीयता र संविधानका विवादित विषयमा सहमति भए आफूहरु सरकारमा एक मिनेट पनि नबस्ने उनको भनाई थियो । उनले आफूहरुले गठन गरेको गठबन्धनबाट कोही डराउनुपर्ने आवश्यकता नरहेको बताए ।
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले संविधान निर्माण नभएसम्म संसदीय निर्वाचनमा जान नसकिने बताए । संसदीय निर्वाचनमा गए हाल सम्मका उपलब्धी गुम्ने तर्क गर्दै बैद्यले त्यसो गर्न खोजिए आन्दोलन गर्ने चेतावनी दिए ।
एमाले अध्यक्ष झलनाथ खनालले तत्काल चुनाव सम्भव नरहेको बताए । उनले राष्ट्रिय सहमतिको सरकार गठन गरेरै अघि बढ्नु पर्ने बताए ।
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले धोकाको राजनीतिक गरेका कारण मुलुकमा समस्या आएको बताए । उनले मुलुकलाई निकास दिन अब कांग्रेस नेतृत्वमा सरकार बनाउनु पर्ने बताए ।

प्रतिक्रिया