वार्षाले म्याग्दी, नुवाकोट र हुम्ला क्षति

काठमाडौं, २७ साउन । अविरल बर्षाका कारण हुम्ला, नुवाकोट र म्याग्दी जिल्लामा ठूलो नोक्सानी भएको छ । बर्षाले सर्वसाधारणका घरमा क्षति पुराएको छ ।
हुम्ला जिल्लामा दुई सातादेखि लगातार परेको बर्षाले सिमीकोट गाविसमा क्षतिपुराएको छ ।
बर्षाले वडा नम्वर एकस्थित सुर्खे महरा र सिमीकोट–४ का दिनत महराको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
बर्षाले हवाई मैदानको ढल बोल खोलामा प्रवेश गर्दा कोदो बाली पनि नष्ट भएको छ ।
पहिराले बगायो सयौं रोपनी
यता, नुवाकोटको साल्मेमा बाढीपहिराले सयौं रोपनी बालीसहित खेतीयोग्य जमिन बगाएको छ ।
अविरल वर्षासँगै स्थानीय तर्सिङ खोलामा आएको बाढीका कारण पहिरो जाँदा साल्मेका वडा नम्वर ३ र ४ मा रहेको ५ सय रोपनीभन्दा बढी जमिन बगाएको साल्मे माविका शिक्षक वीरेन्द्र तामाङले जानकारी दिए ।
पहिरोले बालीनालीसहितका खेतबारी बगाउँदा लाखौंको क्षति भएको छ । पहिरोले बाटो बगाउँदा स्थानीय ३ सय घरधुरीलाई आवतजावतमा समेत समस्या भएको छ ।
बेनीमा बाढी पस्यो
यसैवीच, म्याग्दीको सदरमुकाम बेनीको क्याम्पस चोकका घरहरू बाढीले डुबानमा परेका छन् ।
बेनी–पाखापानी सडकको आँपरुख खण्डबाट शुक्रबार राति बजारमा बाढी पसेपछि क्याम्पसचोकका २५ घर डुबानमा परेका हुन् । सडक निर्माण गर्दा फालिएको माटो बगेर आएको बाढीले चोक वरपरका सडक पनि हिलाम्मे भएका छन् । बाढीका कारण ५० घर प्रभावित भएका छन् ।
घरभित्र एक फिटभन्दा बढी बाढीको पानी प्रवेश गरेको स्थानीयवासी मुकुन्द छन्त्यालले बताए ।
स्थानीयवासी, नेपाली सेना, प्रहरी र क्याम्पसचोक बाढी पहिरो नियन्त्रण उपभोक्ता समिति बजारमा बाढीको पानी हटाउन जुटिरहेका छन् ।

प्रतिक्रिया