अमेरिकालाई महिला फुटबलको स्वर्ण

लन्डन, २७ साउन । अमेरिकाले बिहीबार राति भएको फाइनलमा जापानलाई २–१ ले पराजित गर्दै ओलम्पिक महिला फुटबलतर्फको स्वर्ण पदक जितेको छ । यसका साथै वेम्बली स्टेडियममा रेकर्ड संख्यामा उपस्थित दर्शकसामु खेल्दै अमेरिकाले गत महिला विश्वकप फुटबल फाइनलमा भएको पराजयको मीठो बदला पनि लियो । ओलम्पिक महिला फुटबलमा अमेरिकाको यो लगातार तेस्रो स्वर्ण विजय हो ।
मिडफिल्डर कार्ली ल्वायडले गरेका दुई विस्मयकारी गोलपछि अमेरिका गत वर्षको विश्वकपमा उही प्रतिद्वन्द्वीद्वारा पेनाल्टी प्रहारमा भोग्नुपरेको पराजयको पीडा भुलाउन सफल भएको हो । तापनि, जापानकी युकी ओजिमीले ६३औँ मिनेटमा फर्काएको एक गोलपछि भने अमेरिकाले केही कठिन क्षण पार गर्नुपरेको थियो । ल्वायडले जर्मनीको फ्रयांकफर्टमा भएको उक्त पेनाल्टी सुटआउटमा अमेरिकाका तर्फबाट गरेको पहिलो प्रहार नै ‘मिस’ गरेकी थिइन् । उनै ३० वर्षीया मिडफिल्डर बिहीबार राति सातौँ मिनेटमै हेडर गोल र मध्यान्तरपछि केही सेकेन्डमै सटिक प्रहारमार्फत दोस्रो गोल गरेर दुई टोलीबीचको भिन्नता प्रमाणित भइन् ।
‘पेनाल्टी प्रहारको सम्झना मेरो मन–मस्तिष्क कतै अलिकति पनि थिएन । पेनाल्टीहरू ‘मिस’ हुन्छन्, खेर पनि जान्छन्,’ २००८ को ओलम्पिक फाइनलमा अतिरिक्त समयमा ब्राजिलविरूद्ध विजयी गोल गरेकी ल्वायडले भनिन्, ‘यो केवल अर्को एउटा गेम थियो । हामी विश्वकपमा उनीहरूबाट हार्‍यौँ तर यो खेल अलग थियो र हामी विश्वमा नम्बर एक टोली हौँ भनेर देखाउने अर्को अवसर पनि ।’
बिहीबारको फाइनल वास्तवमै उच्चस्तरीय प्रतिस्पर्धा थियो, ठीक त्यस्तै स्पर्धाजस्तो वर्तमान समयका दुई श्रेष्ठतम महिला फुटबल टोलीबीच हुनसक्थ्यो । म्याचको अन्त्यमा उनीहरूबीच खोट लगाउने कुनै ठाउँ थिएन तापनि, अमेरिकाको भाग्य जापानीहरूभन्दा बेहतर देखिन गएकोचाहिँ साँचो हो ।
अन्तिम १६ मिनेट अमेरिकी गोलकिपर होप सोलो अन्यन्तै व्यस्त रहनुपरेको थियो । उनले समग्रमा चारवटा अत्यन्त सुन्दर बचाउ गर्दै अमेरिकी गौरव यथावत् राखेकी थिइन् ।

प्रतिक्रिया