राजधानीमा फेरि ग्यास अभाव


काठमाडौं, २६ साउन । ग्यास उद्योगीले भन्सार नाकामा आएका ग्यास  टयांकरको क्लियरेन्स बन्द गरेपछि उपत्यकामा ग्यास अभाव सिर्जना भएको छ । यसै पनि लामो समयदेखि ग्यासको अभाव झेल्दै आएका उपत्यकावासी उद्योगीको आन्दोलनबाट थप सास्ती खेप्न बाध्य भएका छन् । कतिपय उपभोक्ता ग्यास स्टकका लागि कम्पनी र डिपोमा धाउन थालेका छन् । सधैँजसो अभाव रहने ग्यासमा पुन: व्यवसायीले आन्दोलनको घोषण गरेपछि ग्यास लिन डिपोमा गए पनि नपाएको चाबहिलकी शान्ति श्रेष्ठले बताइन् ।
एलपि ग्यास उद्योग संघले सरकारले आफ्ना १६ बुँदे माग पूरा नगरेको भन्दै बुधबारदेखि भारतबाट नेपालको भन्सार नाकामा आएका ग्यासका टयांकरको क्लियरेन्स बन्द गरिसकेको छ ।
चरणबद्ध आन्दोलनअन्तर्गत २३ साउनमा नेपाल आयल निगमबाट प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) खरिद प्रक्रिया बन्द गर्ने निर्णय गरिसकेको छ । संघका कार्यवाहक अध्यक्ष शिवप्रसाद घिमिरेले सरकारसमक्ष संघले गत १५ साउनमा राखेको १६ बुँदे मागलाई बेवास्ता गरेकाले आन्दोलनमा उत्रनुपरेको जानकारी दिँदै सरकारले अझै पनि आफ्ना मागका बारेमा सकारात्मक पहल नगरे ३१ साउनबाट मुलुकभर ग्यास बिक्रीवितरण बन्द गर्ने चेतावनी दिए ।
सरकारले हालै उद्योग र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै ग्यासको रङ निलो र रातो बनाउने निर्णय गरेपछि संघले पाँच प्रतिशत वृद्धि गर्नुपर्ने, सरकारको निर्णय खारेज गर्नुपर्ने र उद्योगीलाई सहुलियत दिनुपर्नेलगायत माग राखेर आन्दोलन थालेको हो ।
तर, ग्यास बिक्रेता महासंघका महासचिव महेश्वर श्रेष्ठले उद्योगीहरूले अनाहकमा आफ्नो फाइदाका लागि मात्र आन्दोलनमा गइहाल्नु उपयुक्त नभएको भन्दै सर्वसाधारण जनताको अधिकारप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए । उपत्यकामा रहेका करिब ४२ लाख जनसंख्याका लागि अहिले लगभग १५ हजार मेट्रिकटन ग्यास सिलिन्डर खपत हुने गर्छ । जाडोयाममा भने १८ हजार मेट्रिकटन खपत हुने गरेको पनि महासंघले जनाएको छ । सरकारले अत्यावश्यकीय सेवामा आन्दोलन गर्न नपाउने व्यवस्था गरे पनि एलपी ग्यास उद्योग संघले थालेको आन्दोलनका बारेमा कुनै निर्णय भएको छैन । आन्दोलनलाई लिएर पटकपटक सरोकारवाला निकाय र संघबीच वार्ता भए पनि अझैसम्म सहमतिमा पुग्न बाँकी छ ।

प्रतिक्रिया