कालिस टी–ट्वान्टी विश्वकपमा

जोहानेसबर्ग : स्टार अलराउन्डर ज्याक कालिस आसन्न आइसिसी
टी–ट्वान्टी विश्वकपका लागि दक्षिण अफ्रिकाको टोलीमा परेका छन् । सन् २०१० को मध्यतिर वेस्ट इन्डिजविरुद्ध खेलेपछि कालिसले दक्षिण अफ्रिकाको टी–ट्वान्टी टोलीमा स्थान बनाउन सकेका थिएनन् ।
एब डी भिलियर्सको कप्तानीमा उत्रने दक्षिण अफ्रिकी टोलीमा ग्रिम स्मिथले भने स्थान बनाउन सकेनन् । जिम्बाब्वे र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी शंखलामा टोलीमा नपरेका डेल स्टेन र मोर्न मर्केल पनि टोलीमा फर्किए । चोटग्रस्त २१ वर्षीय मर्चान्ट डे लेङले भने स्थान बनाउन असफल रहे । लेङलाई ढाडको तल्लो भाग दुख्ने समस्या रहेको जनाइएको छ ।
केही महिनाअघि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट उपाधि जित्दा कालिस उक्त टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनले १७ खेलमा ४०७ रन जोडेका थिए । उक्त प्रतियोगितामा उनले १५ विकेट पनि लिएका थिए ।
विश्वकपका लागि घोषित दक्षिण अफ्रिकाको टोलीमा हासिम अमला, जोहान बोथा, जेपी डुमिनी, फाफ डु प्लेसिस, रिचार्ड लेभी, एल्बी मोर्केल, जस्टिन ओनटङ, वेइन पार्नेल, रोबिन पिटरसन, लोवान्बो टिसात्सोबेले स्थान बनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया