एकसाथ चार चलचित्र

काठमाडौं, २६ साउन । पछिल्लो समय प्रदर्शनमा आएका नेपाली चलचित्रले गतिलो व्यापार गर्न नसके पनि प्रदर्शनको क्रम भने झनै बाक्लिँदै छ । अघिल्ला केही सातादेखि बढीमा दुई चलचित्र रिलिज हुने गरे पनि आज शुक्रबार एकसाथ चार चलचित्र रिलिज हुँदै छन् । ती हुन्– सौभाग्य, नयाँ नेपाल एक्सप्रेस, धमाका र यार्सागुम्बा ।
सौभाग्य गोविन्द गौतमको निर्देशनमा तयार भएको हो भने धमाकाका निर्देशक दीपक परिकोटी हुन् । नयाँ नेपाल एक्सप्रेसमा अशोक बम मल्ल तथा यार्सागुम्बामा राजेन्द्र केसीको निर्देशन छ । यी चारै चलचित्र आज काठमाडौं उपत्यकामा मात्र प्रदर्शन हुन लागेका हुन् । राजेन्द्रमान श्रेष्ठ, अर्जुन महर्जन र रविन महर्जनको संयुक्त निर्माणमा  प्रेमकथालाई आधार बनाइएको धमाकामा राजेश हमाल, निखिल उप्रेती, सुमन सिंह, उषा पौडेल, सभ्यता गिरी, हेमन्त बुढाथोकी, नवीन श्रेष्ठलगायतको अभिनय छ । दीपक शर्माको संगीत, अम्युदय खनालको लेखन, रोशन श्रेष्ठको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन र शिव विकको नृत्यनिर्देशन छ । पुराना तथा एक्सन नायकहरूलाई अभिनय गराएकाले चलचित्रले राम्रो व्यवसाय गर्ने विश्वास निर्देशक परिकोटीले गरेका छन् । यो चलचित्र भदौ १ गतेबाट उपत्यकाबाहिर पनि प्रदर्शनको तयारी गरिएको निर्माण पक्षले बतायो ।
नयाँ नेपाल एक्सप्रेसका निर्माता पनि निर्देशक मल्ल नै हुन् । सुष्मा कार्की, भूपेन चन्द, नीता ढुंगाना, शर्मिला मल्ल, मौसमी मल्ल, गणेश उप्रेती, गणेश मुनालको मुख्य भूमिका रहेको चलचित्रले मायाप्रेमका साथै सामाजिक विषयवस्तु समेटेको बताइन्छ । लक्ष्मण शेषको संगीत, रवीन्द्र बरालको छायांकन, शंकर बिसीको नृत्यनिर्देशन छ । वितरक तथा निर्माता हरि बरालले निर्माण गरेको सौभाग्यमा नारी संवेदनाका विषयलाई प्रवल रूपमा प्रस्तुत गरिएको निर्माण समूहले जानकारी दियो । राजेश हमाल, सुमन सिंह, झरना थापा, आयुष रिजाल, सोनिया केसी मुख्य भूमिकामा छन् । यो चलचित्र उपत्यकाबाहिर प्रदर्शन भइसकेको छ । हिमाली क्षेत्रमा मात्र पाइने जडीबुटी यार्सागुम्बा टिप्न जाने व्यक्तिहरूको कथाव्यथालाई विषयवस्तु बनाइएको यार्सागुम्बा अनिता रिमाल (केसी), गोपाल बस्नेत र शम्भु पोखरेलले निर्माण गरेका हुन् ।

प्रतिक्रिया