भैरहवा, २६ साउन । साल्ट ट्रेडिङ कर्पोरसन लिमिटेड अञ्चल कार्यालय लुम्बिनी भैरहवाद्वारा बिक्री वितरण गरिएको नुनमा बालुवा मिसिएको पुष्टि भएपछि पश्चिमाञ्चल खाद्य तथा गुण नियन्त्रण कार्यालयले मुद्दा चलाउने भएको छ ।
कार्यालयले तीन तहको बयान लिएपछि मुद्दा चलाउन लागेको हो । नुनको प्याकेटभित्र बालुवा मिसिएको खबर प्रकाशनलगत्तै क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयले नुनको नमुना संकलन गरेर परीक्षण गर्ने क्रममा बालुवा मिसिएको तथ्य पुष्टि भएको थियो ।
खाद्यले नुनको नमुना संकलन गरेको व्यापारी, डिलर र साल्ट ट्रेडिङ कर्पोरेसनसँग बयान लिएको हो । बयानमा तीनैपक्षले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा नुनमा बालुवा मिसिएको स्विकारेका थिए ।
‘तीन तहको बयानमा नुनमा अखाद्य वस्तु मिसिएको पुष्टिलाई बलियो आधार मिलेको छ,’ खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख किशोर खत्रीले भने, ‘सरकारी वकिलमार्फत खाद्य ऐन–२०२३ अनुसार कारबाहीको मुद्दा चलाउँछौँ ।’ रूपन्देहीका सिडिओ हरिकृष्ण पौडेलले मुद्दा चलाउन खाद्यलाई निर्देशन दिइसकेका छन् ।
प्रतिक्रिया