प्राधिकरणमा ४० वर्षदेखिको बेरुजु

काठमाडौं, २५ साउन । नेपाल विद्युत् प्राधिकरणमा ४० वर्षदेखिको बेरुजु फस्र्योट हुन सकेको छैन । प्राधिकरणका अनुसार ०३० सालदेखिको बेरुजु फछ्र्योट हुनसकेको छैन । ‘४० वर्षदेखिको बेरुजु फस्र्योट गर्न बाँकी छ, ०५१ सालपछि त सैद्धान्तिक बेरुजु छैन, जति छ पहिलाकै हो,’ प्राधिकरणका सहलेखाअधिकृत विष्णुकुमार श्रेष्ठले भने । प्राधिकरणका अनुसार अझै ९० लाख १३ हजार रुपियाँ फछ्र्योट गर्न बाँकी छ । ९५ लाख ८८ हजार बेरुजु रहेकामा ०६७/६८ को ५ लाख ७५ हजार फछ्र्योट भएको थियो । ०६८/६९ को ७१ लाख ११ हजार फस्र्योटका लागि प्रस्तुत गरे पनि संसद्को सार्वजनिक लेखा समिति नभएकाले उक्त रकम फस्र्योट हुन नसकेको हो । सार्वजनिक लेखा समिति भएर त्यो पारित गर्न सकेको भए १९ लाख मात्र फछ्र्योट गर्न बाँकी रहने भए पनि संसद् नभएकाले समस्या परेको श्रेष्ठले बताए ।

पहुँचवाला कर्मचारीले विभिन्न कारण देखाउँदै रकम लिएर फछ्र्योट नगरेकाले ३० वर्षदेखि बेरुजु रहँदै आएको हो । बेरुजु फछ्र्योट हुन नसकेकाले नै प्राधिकरणले पहिलाको बेरुजु उठाउनका लागि बेरुजु शाखा क्रियाशील छ । शाखाको सक्रियतामा बेरुजु उठाउने क्रमलाई तीव्रता दिएको शाखाले जनाएको छ । ‘पहिला धेरैको थियो तर हामी बढी सक्रिय भएपछि बेरुजु उठ्ने क्रम बढ्यो,’ श्रेष्ठले थपे, ‘अब त अधिकांश मृत्यु भएका कर्मचारीको बढी बेरुजु छ ।’ जीवित रहेका कर्मचारीले लगेको बेरुजु छिट्टै उठाइसक्ने लक्ष प्राधिकरणले राखेको छ ।

दुई सय किलोवाट विद्युत् उत्पादन
बाग्लुङ : ऊर्जा जिल्लाका रूपमा विकास हुँदै गरेको बाग्लुङको दुर्गम बोहोरागाउँमा गाउँलेले आºनै सक्रियतामा लघुजलविद्युत् आयोजना निर्माण गरेका छन् ।
निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाबाट दुई सय तीन किलोवाट विद्युत् उत्पादन गरिएको छ । बोहोरागाउँ–५ का बासिन्दाले दुई वर्ष लगातार श्रमदान गरेर एउटै नहरबाट ल्याएको पानीबाट दुइटा ‘पावर हाउस’ निर्माण गरी दोब्बर विद्युत् उत्पादन गरेका हुन् ।
सो आयोजना सम्पन्न गर्न तीन करोड खर्च भएको निर्माण समितिका अध्यक्ष तारानाथ पौडेलले बताए । सदरमुकामदेखि एक सय ३० किमि पश्चिममा रहेको सो आयोजनाको पहिलो पावरहाउसमा एक सय २३ र दोस्रोमा ८० किलोवाट विद्युत् उत्पादन भएको पौडेलले जानकारी दिए । राष्ट्रिय प्रसारणलाइन पुग्न वर्षौं लाग्ने सो स्थानमा गाउँले आफैँ सक्रिय भएर आयोजना निर्माणमा लागेपछि अहिले गाउँ नै झिलिमिली बनेको छ । ‘आºनै प्रयासमा गाउँमा बिजुली बलेको देख्दा निकै खुसी लागेको छ,’ अध्यक्ष पौडेलले भने ।
गाउँलेले नहर र पावरहाउस निर्माण तथा उपकरण ढुवानी गर्न श्रमदान गरेका थिए । विद्युत् आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी)ले सहयोग गरेका थिए । तीन करोड रुपियाँ लागतमा निर्मित आयोजनाले बोहरागाउँका सम्पूर्ण घर र छिमेकी निसी–१ तथा देवीस्थानका केही बस्तीसमेत गरी एक हजार घरमा बिजुली बलेको छ ।
आयोजनका लागि प्रतिकिलोवाट ८० हजार रुपियाँ वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले सहयोग गरेको थियो भने प्राविधिक सहयोग डिसिआरडिसीले गरेको हो । सो आयोजनामा ल्याइएको पानी धेरै भएपछि उपभोक्ताकै पहलमा अर्को ‘पेनस्टक’ पाइप थपेर ८० किलोवाट थप विद्युत् उत्पादन भएको हो । ‘पानी प्रशस्त भएकाले एउटै नहरको पानीले दुइटा पावर हाउसलाइ पुग्ने बनायौँ,’ पौडेलले भने । थप विद्युत् उत्पादन गर्दा सबै घरमा विद्युतीकरण गर्न सकिने भएको र त्यसमा गाउँलेले समेत इच्छा व्यक्त गरेका कारण उपकरण थप गरी नयाँ पावरहाउस निर्माण गरेको केन्द्रका सब–इन्जिनियर गंगाप्रसाद आचार्यले बताए । आचार्यका अनुसार एउटै योजनाबाट दुइटा विद्युत् उत्पादन गर्दा एक करोड रुपियाँ बचत भएको छ ।
विद्युत् उत्पादन भएलगत्तै गाउँमा कुटानी पिसानी मिल, फर्निचर, विद्यालय र समुदायमा कम्प्युटर कक्षा, कुखुरापालन तथा उद्योगहरू खुल्नेक्रम सुरु भएको छ ।

प्रतिक्रिया