स्वास्थोपचारका नाममा खेलबाड

मानिसको संवेदनशील पक्ष स्वास्थ्यलाई खेलबाडका रूपमा लिएर सम्पत्ति कमाउने धन्दा फस्टाउँदै गइरहेको प्रसंगले अहिले चर्चा पाउन थालेको छ । मानिस आफ्नो र आफन्तको स्वास्थ्यप्रति निकै संवेदनशील हुन्छ । त्यही संवेदनशीलतालाई सुम्सुम्याएर ठगी गर्दै फाइदा लुट्नु हदैसम्मको निकृष्ट अपराध हो । यस्ता अपराध गर्नेहरूले विभिन्न तरिकाले समाजलाई भ्रमित पार्दै ठग्ने काम गरिरहेका हुन्छन् । यस्तो ठगी निकै सुझबुझपूर्ण तरिकाले कानुनलाई समेत थोरबहुत प्रभाव पारेर गर्नेहरू समाजमा बढ्दै गएका छन् । सर्वसाधारणलाई सस्तोमा, विनाअप्रेसन मुटुरोग निको पार्ने भन्दै एक वर्षअघिदेखि ठगहरूले राजधानीमै ठगिरहेको अहिले खुल्न आएको छ । दरबारमार्गस्थित शेर्पा मलमा रहेको हिलटेक साओल हेल्थ सेन्टर प्रालिले स्वास्थ्यसम्बन्धी ठगी धन्दा चलाएको बुझिएको छ । विनाअप्रेसन उपचार असम्भव रहेको मुटुरोग अप्रेसन नै नगरी निको पार्ने प्रचार गर्दै उनीहरूले आफ्नो धन्दा चलाएका छन् । विडम्बना के छ भने ठगी गर्ने हिलटेकमा दुईजना एमबिबिएस डाक्टर रहेका छन् । जो हृदयरोग विशेषज्ञ होइनन् । उनीहरूले पत्रपत्रिका र होर्डिङबोर्डद्वारा व्यापक प्रचारप्रसार गरेर बिरामी बटुलिरहेका छन् । मानिसको स्वास्थ्यमै खेलबाड गरेर ठगिरहेको प्रचार भइरहँदा पनि सम्बन्धित निकाय मौन रहनु मुलुककै दुर्भाग्य हो ।
अप्रेसन नै नगरी मुटुको सम्पूर्ण उपचार विश्वमै नभएको अवस्थामा हिलटेकमा कार्यरत डा. प्रवीण र अमिनाले विनाअप्रेसन त्यहाँ कतिजना मुटुका बिरामी निको पारे ? वा उपचारको विश्वासमा कतिजनाले ज्यान गुमाए ? सम्बन्धित निकायले यसको खोजबिन गर्न जरुरी छ । यदि, साँच्चै ठगी गरेको हो भने यसको संवेदनशीलतालाई बुझेर ती ठगलाई तुरुन्त कानुनको कठघरामा उभ्याउनुपर्छ । यदि, उनीहरूले जानीजानी ठगी गरिरहेको हो भने तुरुन्त कठोर सजाय दिलाउनुपर्छ । स्वास्थ्य संस्था खोल्ने र सेवाग्राहीलाई प्रतिबद्धताअनुसार सेवा दिन नसक्ने सबैलाई कानुनको दायरामा ल्याएर कारबाही नगर्ने सम्बन्धित निकायले पनि यस्ता कर्मको दोष बोक्नुपर्छ । किन विज्ञापन गर्न दिइन्छ ? कि झुटा विवरणहरूमाथि कारबाही हुँदैन ? यस्ता गम्भीर प्रकृतिका घटनामा सम्बन्धित निकाय किन कानमा तेल हालेर बस्छ ? यसले पनि अन्य शंका थपेको छ । अनुगमन, नियमन र निर्देशन नभएपछि नैतिकता नभएकाहरूले मानवीय संवेदनामा सुम्सुम्याएर अपराध गरिरहेका हुन्छन् । त्यस्तो कार्य रोक्ने दायित्व सरकारको हो, सम्बन्धित निकायको हो ।
एउटा सामान्य मेसिन राखेर दरबारमार्गजस्तो स्थानमा प्रचारप्रसारसहित संवेदनशील विषयमा ठगी भइरहेको थाहा पाएपछि तुरुन्त कारबाही हुनुपर्ने थियो । तर, आजसम्म ठगीलाई नै प्रश्रय दिने र अनुचित काम गर्नेलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ । त्यहाँ कार्यरत दुईजना डाक्टरलाई हृदयरोग विशेषज्ञ होइनन् भने उनीहरूको प्रमाणपत्र रद्द गर्दै भविष्यका लागि अयोग्य घोषणा गर्नुपर्छ । हृदयरोग विशेषज्ञले गर्न नसकेको र अहिलेसम्म चिकित्सा विज्ञानमा असम्भव भन्दै आएको विनाअप्रेसन मुटुको सम्पूर्ण समस्या एउटा सामान्य डाक्टरबाट सम्भव हुने विषय होइन । यो सरासर ठगी नै हो एकजना बिरामीबाट एक लाख २५ हजार रुपियाँ असुल गर्ने र एउटा सामान्य मेसिन प्रयोग गरेर बिरामीलाई भ्रममा राख्ने कार्य हिलटेकका सञ्चालकले गरेको देखिन्छ । तसर्थ यस्तालाई कुन कानुनअन्तर्गत कारबाही चलाएर हुन्छ कठोर सजाय दिनु जरुरी छ । किनकि यसले अन्य ठगलाई पनि पाठ पढाउनेछ । साथै कानमा तेल हालेर बसेका सम्बन्धित निकायले पनि कमसेकम कान खोल्न जरुरी छ । तर, मुख्य कुरा के हो भने जुनसुकै प्रकृतिका ठगी पनि रोकिनुपर्छ र उनीहरूमाथि कडा कारबाही हुनुपर्छ ।

प्रतिक्रिया