क्रान्तिकारीद्वारा स्कुल बसमा तोडफोड

नेपालगन्ज, २५ साउन । संगठन विस्तार गर्न नदिएको आक्रोशमा नेकपा–माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी बाँकेले जय बागेश्वरी उच्च माध्यमिक विद्यालयको बसमा तोडफोड गरेको छ ।

क्रान्तिकारी विद्यार्थीले पठनपाठन अवरुद्ध हुनेगरी संगठन विस्तार गर्न खोजेपछि विद्यालय प्रशासनले संगठन गठन नगरिदिन आग्रह गरेको थियो । संगठन विस्तार गर्ने राष्ट्रिय अभियानअन्तर्गत क्रान्तिकारीका विद्यार्थी बुधबार विहान जय बागेश्वरी उच्च माविमा पुगेका थिए । उनीहरूले संगठन विस्तार गर्न आएको बताएपछि विद्यालय प्रशासनले पढाइ भइरहेका बेला कुनै पनि राजनीतिक गतिविधि नगरिदिन आग्रह गरेको थियो ।
विद्यालयले संगठन विस्तार गर्न नदिएपछि उत्तेजित बनेका क्रान्तिकारीका विद्यार्थीले विद्यार्थी लिन जाँदै गरेको भे १ ख ७२९ नम्बरको माइक्रोबस तोडफोड गरेका हुन् ।
तोडफोडबाट बसमा क्षति पुगेको छ । बस तोडफोडपछि केही विद्यार्थी विद्यालयमा पढ्नसमेत आउन पाएनन् । अखिल क्रान्तिकारीका नेता रामबहादुर विकले विद्यालय प्रशासनले आफ्ना कार्यकर्तामाथि ‘गेम टिचर’× प्रयोग गरेर अभद्र व्यवहार गरेको बताए । ‘विद्यालय प्रशासनले विद्यार्थी नेतालाई जबर्जस्ती लखेट्न खोजेपछि बस तोडफोड गर्ने अवस्था सिर्जना भयो । यसको जिम्मेवारी विद्यालय प्रशासनले नै लिनुपर्छ,’ विकले भने, ‘हामी तोडफोड गर्ने उद्देश्यले गएका थिएनौँ ।’
जय बागेश्वरीले पटकपटक विद्यार्थी संगठनका गतिविधि गर्न रोक लगाएको आरोप लगाउँदै विकले विद्यालय नसच्चिए कडा कदम चाल्ने चेतावनी दिए । उनले भने, ‘सरकारी निकायदेखि विद्यार्थी संगठनलाई समेत निषेध गर्नेलाई यो सांकेतिक दबाबमात्र हो ।’
विद्यालयले विज्ञप्ति प्रकाशित गरेर क्रान्तिकारीका केही विद्यार्थी विद्यालय हाताभित्र प्रवेश गरी प्राचार्यसँग वार्ता गर्ने क्रममा असहमति भई बाहिर निस्केर बसमा तोडफोड गरेको जनाएको छ ।

प्रतिक्रिया