यातायात व्यवसायीहरु आन्दोलनमा

काठमाडौं, २४ साउन २४ । विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै यातयात व्यवसायीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर यातायात व्यवसायीहरुले साउन–२६ गते शुक्रबारबाट सार्वजनिक यातायात पूर्णरुपमा नचलाउने जनाए ।
उनीहरुले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई आफूहरुका मागका बारेमा संयुक्त ज्ञापन पत्र समेत बुझाउने जनाएका छन् । माग सम्बोधन नभए शुक्रबारबाट सवारी साधन ग्यारेजमा थन्काएर व्यवसायी र मजदुरहरु सडक उत्रने चेतावनी दिए ।
नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातयात मजदूर संघ, नेपाल यातयात मजदूर संघ र नेपाल यतायात स्वतन्त्र मजदूर संगठनले संयूक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन ।
नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले सडकलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग गरे । उनले भने, ‘पञ्चायतकाल भन्दा पनि बढी सरकारले यातायता व्यवसायीहरुलाई दुःख दिएको आरोप लगाए ।
संघर्ष समितिका संयोजक विजयबहादुर स्वाँरले सरकार यातायात व्यवसायीहरुको माग प्रति उदासिन बनेको आरोप लगाए ।
व्यवसायीहरुले छुट्टै यातयात मन्त्रालय गठन गर्नु पर्ने, यातयात क्षेत्रलाई उद्योग सरह मान्यता दिलाउनु पर्ने, यातयात मन्त्रालयबाट ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेको थप अधिकार खारेज गर्नु पर्र्ने, ट्राफिक जरिवानामा सरकारबाट दिएको कमिशन रकम सम्बन्धी निर्णय खारेज गर्नु पर्ने यातयात क्षेत्रमा सामाजिक सुरक्षा कार्यान्वयन गरि लागू गर्नु पर्ने र वीमा नीति व्यवहारमा लागू गराउनु पर्ने माग अगाडि सारेका छन् ।

उता, दाङमा पनि महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वन गर्नुपर्ने माग गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
महासंघले माग पुरा नभए साउन–२६ गते शुक्रबारदेखि संघर्ष गर्ने चेतावनी दिएको छ । संघर्षका कार्यक्रम अनुसार साउन–२६ र २७ गते देशभरि चक्काजाम गरिने छ ।
महासंघले आज दाङको तुलसीपुरमा पत्रकार सम्मेलन गरेर विगतका सहमति कार्यान्वयनमा जोड दिएको हो । दुई दिनको चक्काजामका क्रममा माग पुरा नभए पुनः साउन–२७ गते आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने महासंघका केन्द्रीय सचिव शुरेस हमालले जानकारी दिए ।
व्यवसायीले यातायात क्षेत्रलाई व्यवस्थतित गर्न छुट्टै यातायात मन्त्रालय गठन गर्नु पर्ने, ट्राफिक प्रहरीले लिने गरेको जरिवाना घटाउनु पर्ने, विगतका सहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखेका छन् ।
दुई दिने चक्काजामका क्रममा स्कुल बस, एम्वुलेन्स, प्रेस, कुटनीतिक नियोग र मोटरसाईकल सञ्चालनमा रोक नलगाईने सचिव हमालले बताए ।

प्रतिक्रिया