होर्डिङ बोर्डबाट डेड करोड संकलन

काठमाडौं : काठमाडौं महानगरपालिकाले बाह्य विज्ञापनबापत अहिलेसम्मकै सबभन्दा बढी रकम संकलन गरेको छ  । आर्थिक वर्ष ०६७/६८ मा बाह्य विज्ञापनबाट एक करोड ४० लाख तीनहजार संकलन भएकामा आव ०६८/६९ मा सो रकम वृद्धि भई एककरोड ६१ लाख ४४ हजार ६ सय २९ पुगेको छ । सो रकम अघिल्लो आवका तुलनामा २१ लाख ४० हजार ६ सय ७४ ले बढी हो । बाह्य विज्ञापनअन्तर्गत होर्डिङ बोर्ड, विद्युतीय पार्टी तथा ब्यानर, पोस्टर आदि पर्दछ ।

महानगरपालिकाले होर्डिङ बोर्डको शीर्षकबाट मात्र एक करोड ४५ लाख ८० हजार तीन सय ४९ संकलन गरेको छ । प्रतिबन्धित रक्सी, चुरोटको विज्ञापन बन्द गरे पनि सो रकम होर्डिङ बोर्डको शीर्षकमा उठ्ने रकममध्ये पनि अहिलेसम्मकै उच्च भएको महानगरपालिकाले जनाएको छ । यसरी विज्ञापन वृद्धि हुनुमा विज्ञापन प्रयोग गर्ने संघ/संस्थाका संख्या वृद्धि हुनु प्रमुख भएको महानगरपालिकाको भनाइ छ । महानगरपालिकाअन्तर्गत राजस्व महाशाखाका प्रमुख राज्यप्रकाश प्रधानांगले महानगरभित्रको क्षेत्रमा बाह्य विज्ञापन प्रयोग गर्ने संघ/संस्थाको संख्यामा आएको वृद्धि र उनीहरूले समयमै शुल्क भुक्तानी गर्ने गरेकाले बढी रकम संकलन भएको जानकारी दिए । (सौस)

प्रतिक्रिया