दुर्घटनामा १५ को मृत्यु

काठमाडौं, २४ साउन । धादिङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको भूमेस्थान–६ को कमेरेमा भएको बस दुर्घटनामा दुई महिलासहित १२ जनाको मृत्यु भएको हो । बुटवलबाट काठमाडौं आइरहेको लु १ ख ७०५१ नम्बरको बस मंगलबार बिहान ४ बजे सडकबाट १ सय ५० मिटर तल महेश खोलामा खस्दा बसमा सवार यात्रुमध्ये १० जनाको घटनास्थलमा, एकको उपचारका लागि काठमाडांै ल्याउने क्रममा र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर कपिलवस्तु, कोपवा–४ का बलिराम चौधरी, कोपवा–८ का ३४ वर्षीय अवधकिशोर चौधरी, कोपवा–६ का राममिलन चौधरी, रुद्रपुर (रूपन्देही) का २२ वर्षीय मोहन नगरकोटी, मानपकडी–४ का फणिन्द्र सुवेदी, सुशीला घर्तीमगर, कटवाल–१ का रञ्जन थापा, बुटवलका शेरबहादुर थापा, ढिकुरा–६ (अर्घाखाँची) का केशव सारु र तम्घास (गुल्मी) की पार्वती घर्तीमगरको मृत्यु भएको हो । उनीहरूमध्ये अवधकिशोर चौधरी र पार्वतीको उपचारका क्रममा मृत्यु भएको हो । अन्य दुईको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटनाको खबरलगत्तै घटनास्थल पुगेका स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजमार्ग दुर्घटना उद्धारकर्मीको टोलीले २० यात्रुलाई उद्धार गरेर उपचारका लागि काठमाडौं पठाएका थिए । सडकबाट पल्टिएर महेशखोलामा डुबिरहेको बसलाई उद्धारकर्मीले डोरीले बाँधेर धकेल्दै उठाएका थिए । बस उठाउने क्रममा एक जनाको शव भेटिएको थियो । बस दुर्घटनामा ज्यान गएका १० जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।
१ साउनमा पनि धादिङकै कृष्णभीरमा भएको बस दुर्घटनामा परेर १७ जनाको ज्यान गएको थियो ।
यस्तै, सुनसरीको इनरुवा सडकखण्डमा मंगलबार भएको सवारी दुर्घटनामा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।
सुनसरी इनरुवाको सखुवागाछीमा पूर्व जाँदै गरेको ना ४ ख १४३ नम्बरको ट्रिपरले बा १३ प ५१८६ नम्बरको मोटरसाइकल र युएनको ६६–१–१७०९ नम्बरको कारलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई र कारका चालकको घटनास्थलमा नै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगरका विजयकुमार शर्मा र मोटरसाइकलमा पछाडि सवार भारतीय नागरिक बुधमाल जैन तथा युएनको कारका चालक काठमाडौं गागलफेदी–६ का राधेश्याम थापा छन् ।
दुर्घटनामा घाइते भएका सिरहा कृष्णपुरका धिरेन्द्रकुमार यादवको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका सिरहा–१ का रामनाथ शाहको अवस्था पनि चिन्ताजनक रहेको छ । यस्तै, मोरङ गछिया पुलनजिकै विश्वकर्मा मन्दिरअगाडि ना ४ ख ४९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा २० यात्रु घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया