मन्त्रीका गाडी सडकमा निषेध

काठमाडौं, २३ साउन । एमाले निकट युवा संघ नेपालले आफ्ना संघर्षका कार्यक्रममा हेरफेर गर्दै दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष महेश बस्नेतले आन्दोलनका क्रम सार्वजनिक गरेका हुन् । कार्यक्रम अनुसार कामचलाउ सरकारका मन्त्रीका गाडीलाई सडकमा निषेध गर्ने, सार्वजनिक विदाका दिन सरकारी गाडी दुरुपयोग भए कब्जा गर्ने, शिक्षण संस्थामा अवरोध नगर्नेलगायतका रहेका छन् ।
‘आन्दोलन अवधिभर अवैधानिक सरकारका मन्त्रीका गाडीलाई सडकमा निषेध गर्ने निर्णय भएको छ,’ उनले भने, ‘आन्दोलनको वेवास्ता गर्दै मन्त्रीले जबर्जस्ती गाडी गुडाएमा मन्त्रीका टाउका पनि फुट्न सक्छन् ।’
मन्त्री र सरकारी उच्च पदाधिकारीहरुले विदाका दिन मोजमस्तीका लागि सरकारी गाडीको दुरुपयोग गरीरहेको आरोप लगाएका अध्यक्ष बस्नेतले अब त्यस्ता गाडी खोजी–खोजी कब्जागरेर सम्बन्धित निकायमा जिम्मा लगाउने बताए ।
‘हामी वार्तामा जाँदै जाँदैनौं,’ उनले भने, ‘यो सरकारलाई सत्ताच्युत गराएरै छाड्छौं ।’
यसैवीच संघले आन्दोलनका क्रममा स्कुल र कलेजका गाडीमा अवरोध नगर्ने बताएको छ । उपत्यकाको हकमा भोलिदेखि चक्काजाम एक घन्टा घटाएर बिहान ६ बजेदेखि ९ बजेसम्म कायम गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
संघले आजै दोस्रो चरणका आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
साउन–२६ गते सिंहदरबार घेराउ, २७ गते मुकुण्डो प्रदर्शन, २८ गते मन्त्री निवास घेराउ, २९ गते देशव्यापी मतदान, ३० गते मत सार्वजनिक र जुलुस प्रदर्शन, ३१ गते मसाल जुलुस, ३२ गते नेपाल बन्दका कार्यक्रम संघले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया