‘नायक बन्ने रहर छैन’

तपाईंको बुझाइमा चलचित्र के हो ?
चलचित्र समाजको ऐना हो । संसारका केही चलचित्रका कथा प्राय: मिल्नसक्छ । फरक देखाउने भनेका त्यसमा बुनिने सामाजिक विषयवस्तु, मौलिकता र पात्रको प्रस्तुतिले हो । त्यसैले नै दर्शकलाई बाँध्न सक्छ ।
नेपाली चलचत्रि कत्तिको हेर्नुहुन्छ ?
लुट हेरेँ । हाइवेको पनि चर्चा धेरै छ तर हेर्न भ्याएको छैन । मैले हेरेकामध्ये लुटले नेपाली चलचित्र क्षेत्रमा केही सकारात्मक संकेत देखाएको छ । यस्ता चलचित्र बने नेपाली सिने उद्योगले उन्नति गर्ने आश गर्न सकिन्छ । त्यसअघि प्रेमपिण्ड, वसन्ती चलचित्र पनि राम्रा लागे ।
चलचित्रको अवस्था कस्तो देख्नुहुन्छ ?
नेपाली चलचित्र क्षेत्रलाई दुई कोणबाट हेरेको छु । अहिले चलचित्रमा जुन विविधता देखिएको छ, यो सकारात्मक हो । तर, विभिन्न विदेशी चलचित्र हेर्ने अनि निर्माताले आफ्ना चलचित्रमा नेपाली संस्कृति र मौलिकताबारे पटक्कै ध्यान नदिने परिपाटि पनि छ । यसले चाहिँ चलचित्र क्षेत्रलाई केही फाइदा पुर्‍याउँदैन जस्तो लाग्छ ।
दर्शक घट्दै गएका छन् भनिन्छ नि ?
चलचित्र होस् वा राजनीति, समयसापेक्ष हुनुपर्छ । समाज जसरी जान्छ, चलचित्र पनि त्यसरी नै अघि बढ्नुपर्छ । जुन चलचित्रमा दर्शकले आफ्नै कथा देख्छन्, आफ्नोपन अनुभूति गर्न सक्छन्, त्यही चलचित्रलाई मन पराउँछन् । यो नहुने हो भने दर्शक स्वत: घट्न थाल्छन् ।
चलचित्रमा लगानी गर्नु बालुवामा पानी हालेसरह हो भन्ने पनि छन् नि ?
मलाई त्यस्तो पनि लाग्दैन, किनभने जुन बिजनेसमा घाटा हुन्छ । त्यसमा कसैले पनि लगानी गर्दैन । म नाम त लिन चाहन्न तर एउटा मात्र चलचित्र बनाउँछु भनेर छिरकाले चार–पाँच चलचित्र लगातार बनाएको पनि देखिएको छ । कतिपयले चाहिँ दर्शकको चाहना र प्रस्तुतिमा ध्यान नदिँदा चलचित्र नराम्रा बनेका हुन् ।
चलचित्रमा देखाइने राजनीति र देशको राजनीति कत्तिको मिल्दोजुल्दो देख्नुहुन्छ ?
त्यही त अस्वाभाविक लाग्छ । चलचित्रमा देखाइने राजनीति विषयवस्तुका हिसाबले ठीक छ । तर, राजनीतिभित्र पनि दर्शकले जे भोगे/देखेका छन्, त्यसलाई चाहिँ चलचित्रले चित्तबुझ्दो गरी देखाउनसकेको लाग्दैन । प्रस्तुति राम्रो हँुदैन । यहाँ चलचित्रको प्रस्तुतिभन्दा कथा, कलाकार र प्रविधिमा जोड दिइन्छ ।
प्राय: पछिल्ला चलचित्रले नायिका चाहिँ किन नयाँ खोजेका होलान् ?
यसमा अनौठो मान्नुपर्ने केही छैन । जे कुराले दर्शकलाई आकर्षित गर्छ, त्यही चिज खोजी गर्ने हो । नयाँ नायिकाको काम तथा अन्य पक्षले दर्शकलाई उत्सुकता जगाउने भएर यसो गरिएको हुनसक्छ ।
चलचित्रको नायक बन्ने अफर आए गर्नुहुन्छ ?
यो क्षेत्र मेरो हैन । चलचित्र गर्ने सोच पनि छैन । म दर्शकचाहिँ हुँ । दर्शक र शुभचिन्तकका हिसाबले आवश्यक सहयोग भने गर्नसक्छु ।
चलचित्रकर्मीलाई तपाईंको सन्देश ?
आफूले बनाउन लागेको चलचित्रलाई पहिला दर्शक भएर सोच्नुस् । त्यसका संवाद र घटनाहरू तपाईंलाई स्वाभाविक लाग्छन् कि लाग्दैनन् राम्ररी ध्यान दिनुस् । चलचित्र नाटकीय होइन, वास्तविक हुनुपर्छ । यी कुरामा राम्ररी ध्यान पुर्‍याएर बनाउने हो भने चलचित्र चल्छ जस्तो लाग्छ ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया