राष्ट्रिय स्वर्णविजेताले अझै पैसा पाएनन्

काठमाडौं, २३ साउन । छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको पाँच महिना बितिसक्दा पनि स्वर्णपदक विजेताले पूर्वघोषित पुरस्कार रकम पाएका छैनन् । राष्ट्रिय खेलकुद परिषद्ले छैटाँै राष्ट्रिय खेलकुद प्रतियोगिताअघि स्वर्णपदक विजेता खेलाडीलाई पुरस्कार रकम दिने घोषणा गरेको थियो । यसअनुसार एकलतर्फ विजेतालाई १० हजार र टिमतर्फ विजेतालाई पाँच हजार रुपियाँ दिने निर्णय भएको थियो । उक्त प्रतियोगितामा एकल र टिमतर्फ गरी विभिन्न खेलमा ३ सय २१ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
बजेटको रकम पूरै नआएकोले घोषित पुरस्कार उपलब्ध गराउन नसकिएको राखेप सदस्यसचिव युवराज लामाले जानकारी दिए । ‘कुल २१ करोड ९४ लाख रुपियाँ बजेटअन्तर्गत हामीलाई सरकारबाट २० करोड रुपियाँ मात्र प्राप्त भयो,’ लामाले भने, ‘यसैले हामीले खेलाडीलाई घोषित पुरस्कार रकम उपलब्ध गराउन असफल भएका हौँ ।’
महिनाँैसम्म पैसा नपाएपछि यतिबेला स्वर्णपदक विजेता खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलाई पहल गरिदिन बारम्बार आग्रह गर्दै आएका छन् । ‘घोषणा गरिएको पैसा दिन त यतिका समय लाग्छ भने,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले भने, ‘अनि, कसरी खेलाडीको मनोबल उच्च हुन्छ ?’
केही दिनअघि मात्र सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मिसन साग तयारी सम्बन्धमा आयोजित कार्यक्रममा उपस्थित खेलाडीले सञ्चारकर्मीलाई खोजीखोजी ‘छैटाँै राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्णपदक विजेताले कहिले पैसा पाउँछन् भनी प्रश्न गरिदिनू न †’ भन्दै आग्रह गरेका थिए । खेलाडीहरूको बारम्बारको ताकेताका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि राखेप सदस्यसचिव लामासँग यस विषयमा छलफल गरेको छ । ‘खेलाडीले नै आएर बारम्बार गुनासो गरेपछि हामीले सदस्यसचिव लामासँग कुराकानी गरिरहेका छौँ,’ संघका महासचिव दीपक श्रेष्ठले भने ।

“अब पाउँछन्”
लामो समयसम्म छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगताका स्वर्णपदक विजेता खेलाडीलाई घोषित पुरस्कार रकम उपलब्ध गराउन नसकेपछि राखेप सदस्यसचिव लामाको नेतृत्वमा खेलाडी संघका पदाधिकारीसहितको टोली सोमबार अर्थ मन्त्रालयमा पुगेको थियो ।
अर्थ मन्त्रालयका युवा तथा खेलकुद मन्त्रालय हेर्ने उपसचिव केदार पनेरुसँग भेट गरेर उक्त टोलीले विभिन्न शीर्षकमा पैसा माग्यो । ‘आज पैसा माग्न गएका थियौं,’
सदस्यसचिव लामाले भने, ‘उपसचिव पनेरुले चाँडै नै खेलाडीका लागि घोषित पुरस्कार रकमका लागि पैसा निकासा गरिदिने बताउनुभयो ।’ छैटाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा अनियमितता र भष्टाचार भएको हुन सक्नेमा महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नजर परेपछि राखेप बोर्ड उक्त प्रतियोगितालगत्तै आलोचित भएको थियो ।
राखेप कर्मचारी संघका अध्यक्ष नारायणदेव राणा, ओलम्पियन संघका अध्यक्ष सुनिल जोशी, ओलम्पियन बैकुण्ठ मानन्धर पनि उक्त टोलीमा सामेल थिए । खाजाभत्ता उपलब्ध नभएको भन्दै मागका लागि मन्त्रालय पुगेका राणाले सात महिनादेखि खाजाभत्ता नपाएको गुनासो गरेका थिए । उपसचिव पनेरुले एकमुष्टरूपमा उक्त रकम यसै महिना उपलब्ध हुने आश्वासन दिएका थिए । त्यस्तै विभिन्न समयमा खेलाडी उपचार तथा वृद्ध ओलम्पियनलाई सहयोगार्थ सिफारिस गरिएको रकमको फाइल अगाडि नबढेको भन्दै ओलम्पियन संघ तथा खेलाडी संघले उपसचिव पनेरुलाई त्यसका लागि प्रक्रिया यथाशीघ्र अगाडि बढाउन आग्रह गर्‍यो ।

प्रतिक्रिया