शुक्रबारको एक बिहान ओज्दान शाहेरखानीका लागि उत्साहपूर्ण थियो । प्राय: सधैं बुर्कामा गुम्सिइरने उनको मुहार यतिबेला केही स्वतन्त्रता महसुस गर्दै थियो । मनमा नवीन संवेदनाहरू छचल्कँदै थिए । अनि उनी उत्साहित थिइन् । साउदी अरबको इतिहासमा ओलम्पिकमा पहिलोचोटि सहभागी हुने महिला हुन् उनी । त्यसो त यसपालिको लन्डन ओलम्पिकमा साउदी अरबजस्तै कतार र ब्रुनाईका मुस्लिम महिला पनि थिए, जसले यसपटक आ–आफ्नो देशबाट ओलम्पिकमा सहभागी हुने पहिलो महिला बन्न पाए ।
अन्य पश्चिमी एवं एसियाली मुलुकका महिलालाई जस्तो खुकुलो त पक्कै उनीहरूलाई भएन । मुहार खुला भए पनि टाउकोमा स्कार्फ बाँधिएकै छ । यस्तै पहिरनमा खेलकला देखाउँदै छन् । ओलम्पिक स्पर्धाका लागि तयार रहँदा रेफ्रीले बजाएको सिठी मात्रैले पनि नौलो अनुभूति गराएको छ खेलाडी मुस्लिम युवतीलाई । यो अनुभवलाई यसरी बाँड्छिन् शाहेरखानी– ‘हो, मेरो सपना आज यथार्थमा परिणत भएको छ ।’ खुसीले उनका काला आँखाबाट डल्लो पर्दै केही थोपा आँसु पनि झरे । त्यसो त आज लन्डनमा शाहेरखानी मात्र एक्ली महिला छैनन् । यतिखेर प्रत्येक ओलम्पिक राष्ट्रसँग आफ्नो टिममा महिला खेलाडी छन् । जबकि पन्ध्र वर्षअघिसम्म पनि दर्जनौँ देशले पुरुष खेलाडीलाई मात्र ओलम्पिक पठाउँथे ।
परपुरुषलाई आफ्नो अनुहार देखाउनसमेत नपाउने चरम पित्तृसत्ताबीच हुर्केका महिलाले यसपटक आफ्नो देशको प्रतिनिधित्व गर्दै राष्ट्रिय झन्डा उचालेर मार्च पास गरे । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र मानव अधिकार संगठनको चर्को दबाबपछि यसपटक ती राष्ट्रबाट महिला खेलाडीहरू सहभागी भएका हुन् । ओलम्पिक उद्घाटनको पूर्वसन्ध्यामा निकै उत्साहित देखिन्थे, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रमुख ज्याक्स रोगे पनि । भन्दै थिए– ‘यो लैंगिक समानताका लागि महत्त्वपूर्ण उपलब्धि हो ।’
कतारले मार्चपास गरिरहँदा राष्ट्रिय झन्डा अल हमादले उचालिरहेकी थिइन् । त्यसबेला संसारका करोडौँको ध्यान उनैतिर थियो । त्यो झन्डासँगै संसारभरका नारीको शिर उचालिएको धारणा दिँदै थिए थुप्रै जना । बु्रनाईका १७ वर्षीय महिसिन पनि आफ्नो देशको राष्ट्रिय झन्डा उचाल्दै थिइन् । भन्दै थिइन्– ‘म ब्रुनाईका प्रत्येक महिलाबाट प्रभावित छु, सबैको भावना ग्रहण गरेकी छु ।’ लन्डन ओलम्पिकबाटै आफ्नो एथलेटिक्स करिअर सुरु भएको उनलाई लागिरहेछ ।
ओलम्पिकको इतिहासमा महिला खेलाडीको सहभागिता सन् १९०० को ग्रीष्मकालीन ओलम्पिकबाट सुरु भएको थियो । त्यसबेला फ्रान्स, ग्रेट ब्रिटेन, इटली, संयुक्त राज्य अमेरिका, स्विट्जरल्यान्ड र बोहेमियासहितका ६ राष्ट्रले महिला खेलाडी पठाएका थिए । त्यसपछिको ३६ वर्षमा ओलम्पिकमा सहभागी २४ ओटा राष्ट्रमध्ये अधिकांशले महिला खेलाडी पठाएका थिए । लामो समयसम्म महिला खेलाडी नपठाएको क्युवाले पनि अन्तत: सन् १९५६ को ओलम्पिकमा पठायो । सन् २००८ सम्म आइपुग्दा ४३ प्रतिशत सहभागीको स्थान महिला खेलाडीले ओगटेका थिए ।
अहिलेको ओलम्पिकमा चाहिँ पदक विजेता खेलाडीबाहेक कोही चर्चाको विषय बनेका छन्, त यिनै खाडी मुलुकका महिला । बु्रनाई र कतारले केही महिना पहिले नै यसपालि आफ्ना नारी खेलाडीलाई ओलम्पिकमा सहभागी गराउन इजाजत दिएका भए पनि साउदी अरबले भने यो निर्णय लिन निकै ढिलो गरेको थियो । अन्तत: ऊ पनि तयार भयो । अन्तर्राष्ट्रिय ओलम्पिकका प्रमुख रोगेले एउटा अन्तर्वार्तामा सउदीबाट महिला खेलाडी सहभागी गराउन ‘साइलेन्ट डिप्लोमेसी’ को प्रयोग गरिने बताएका थिए ।
जुडोमा प्रतिस्पर्धा गर्न आएकी शाहेरखानीले लगाएको पोसाक हिजाब (मुस्लिम महिलाले लगाउने एक कपडा) चर्चाको विषय बन्यो । इस्लामिक सरिया कानुनले महिलाले हिजाब, अझ बुर्का लगाउनु अनिवार्य मान्छ । धर्मले तोकिदिएको पोसाकमै रहेर खेलक्षमता देखाउनुपर्ने चुनौतीमा रहे मुस्लिम नारीहरू । अन्तत: साउदी ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय जुडो महासंघले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको समन्वयमा निर्णय गरे– खेलमा पनि हिजाब लगाउन पाइने । ‘यो खेल र संस्कृतिबीच भएको असल सम्झौता हो’, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रवक्ता इम्माइनिउल मोरिउको धारणा ।
(एजेन्सीको सहयोगमा – सरोज )
प्रतिक्रिया