विकल्प रोज्न भट्टराईको विपक्षीलाई आग्रह

बुटवल, २२ साउन । राष्ट्रपतिले सहमतिका साथ अगाडि बढ्न आग्रह गरिरहेका वेला कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले पाँच बुँदे सहमति अनुसार चल्न विपक्षी दलहरुलाई सुझाव दिएका छन् ।
उनले पाँच बुँदे सहमतिको पालना गरेर मुलुकको संकट समाधान गर्न सकिने बताए । उनले भने, ‘संविधानसभाको पुनःस्थापना गरेर संविधान जारी गर्ने वा नयाँ चुनावमा जाने भन्नेमा विषयमा छलफल भइरहेको छ ।’
दलहरुका वीच यी दुई बाहेक अन्य बिकल्प नहरेको भन्दै उनले एक विकल्प रोज्न आग्रह गरे ।
क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले विपक्षी दलहरुलाई पुनःस्थापना वा निर्वाचन मध्य एक विकल्प रोज्ने मौका रहेको बताए ।
संकट समाधानमा कांग्रेस र एमाले गम्भीर नदेखिएको आरोप लगाएका उनले सहमतिको बाधक सरकार नरहेको दाबी गरे । उनले एक हप्तासम्म संविधानसभाको समय थपेर नयाँ संविधान ल्याउन सके सबैभन्दा राम्रो हुने बताए ।
कांग्रेस र एमालेले सरकार परिवर्तनलाई मुख्य बिषय बनाएकाले सहमति बन्न नसकेको भट्टराईको आरोप थियो ।
फरक प्रसंगमा भट्टराईले राष्ट्रपतिसँग आफ्नो कुनै असमझदारी वा मतभेद नरहेको दाबी गरे । ‘राष्ट्रपति संविधानको रक्षक हो,’ उनले भने, ‘राष्ट्रपतिले कुनै पनि अप्रिय कदम चाल्नु हुँदैन ।’
अध्ययादेश मार्फत देश चलाउनु आफ्नो बाध्यता रहेको भट्टराईले बताएका छन् । उनले राष्ट्रपतिले सरकार चलाउन सहयोग गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया