राष्ट्रपति डा.यादवद्वारा राजनीतिक परामर्श

काठमाडौं, २१ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका समबन्धमा राष्ट्रपति डा.रामवरण यादवले विघटित संविधानसभाका दलहरुसँग परामर्श गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको छलफलमा गतिरोध अन्त्यका सम्बन्धमा परामर्श भएको नेताहरुले बताएका छन् । डा.यादवले राजनीतिक परामर्श गरे पनि ठोस निकास भने आउन सकेन ।
सो क्रममा डा.यादवले मुलुकमा देखिएको गतिरोध अन्त्यका लागि गम्भीर हुन नेताहरुलाई आग्रह गरेका थिए ।
भेट पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रपतिले निकासका लागि गम्भीर भएर कदम चाल्नुपर्ने बताए । उनले भने, ‘सहमतिका लागि राष्ट्रपतिले नै दबाव दिनुपर्छ ।’
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले दलहरुका वीच सहमति अनिर्वाय रहेको भन्दै चुनावको सहमतिमै मिति तोक्नु पर्ने बताए । उनले भने, ‘मंसिर–७ मा चुनाव नहुने भएपछि कानूनी र संवैधानिक निकास खोजेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।’
कांग्रेस उपसभापति रामचन्द्र पौडेल दलहरुका वीच विगतमा भएका सहमतिलाई आधार मानेर गतिरोधको अन्त्य निकाल्नुपर्ने बताए ।
छलफलमा कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उप–प्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारगायतका नेताहरुको सहभागिता रहेको थियो ।
यसैवीच, राष्ट्रपति डा.यादवले नेताहरुलाई दिवा भोज समेत दिएका छन् । भोजमा अधिकांश नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया