तिलकरामको पराजयसँगै नेपाल बाहिरियो

काठमाडौं, २१ साउन । तिलकराम थारूले व्यक्तिगत प्रदर्शन सुधार गरे पनि अन्य नेपाली खेलाडीजस्तै उनी पनि जारी लन्डन ओलम्पिक खेलकुद प्रतियोगितामा हिटचरणबाटै बाहिरिएका छन् । १०० मिटर दौडमा प्रतिस्पर्धा गरेका थारूको यस नतिजासँगै लन्डन ओलम्पिकमा नेपाली खेलाडीको यात्रा हिटचरणमै सीमित भएको छ ।
थारूसहित यस प्रतियोगितामा प्रतिस्पर्धा गरेका सबै चार नेपाली खेलाडी हिटचरणबाटै बाहिरिएका थिए । प्रतियोगितामा नेपालका तर्फबाट दुई पौडी खेलाडी, दुई एथलेटिक्स खेलाडी र एक सुटिङ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पौडीतर्फ श्रेया धितालले राष्ट्रिय कीर्तिमान बनाउनु नै लन्डन ओलम्पिकमा नेपाली खेलकुदको सफलता बन्यो ।
लन्डन ओलम्पिकको अन्तिम नेपाली प्रतिस्पर्धीका रूपमा सहभागी भएका थारूले १०.८५ सेकेन्डमा निर्धारित दूरी पूरा गरे पनि उनी शीर्ष १० भित्र अटाउन सकेनन् र उनको यात्रा प्रिलिमिनरी चरणमै सीमित भयो । यस चरणमा २९ खेलाडीलाई प्रतिस्पर्धा गर्न लगाइएको थियो जहाँ थारू तेह्रौँ स्थानमा रहे ।
आठ जनाले प्रतिस्पर्धा गरेको उनको समूह (हिट चार) मा थारू पाँचौँ स्थानमा रहे । सो समूहमा १०.४२ र १०.६२ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका शीर्ष दुई खेलाडी अघिल्लो चरण प्रवेश गरे । आफ्नो समूहमा थारूले अफगानिस्तान, किरिबाटी र कुक आइल्यान्डका खेलाडीलाई पछि पारे । बुर्किना फासो, मौरिसस, सेन्ट भिसेन्ट र माल्टाका खेलाडी थारूभन्दा अगाडि रहेका थिए ।
केही महिनाअघि सम्पन्न छैटौँ राष्ट्रिय खेलकुदमा थारूले चार स्वर्णपदक जितेका थिए । उनको यसअघिको सबैभन्दा छिटो समय ११ सेकेन्ड रहेको थियो । लन्डन ओलम्पिकमा नेपालको तर्फबाट एथलेटिक्समा थारूसँगै प्रमिला रिजाल, पौडीमा श्रेयासँगै प्रसिद्धजंग शाह र सुटिङतर्फ स्नेहाराज्यलक्ष्मी राणाले प्रतिस्पर्धा गरेका थिए । प्रसिद्धजंगले व्यक्तिगत छिटो समय निकाले पनि राष्ट्रिय कीर्तिमान भने तोड्न सकेनन् ।

प्रतिक्रिया