तीन मेगावाट विद्युत् उत्पादन

बाग्लुङ, २१ साउन । ऊर्जा जिल्लाका रूपमा विकास गर्न थालिएको बाग्लुङमा विद्युत् उत्पादनको काम तीव्र रूपमा अगाडि बढेको छ ।

स्थानीय जनता र विभिन्न दातृ निकायको सहयोगमा गाउँ–गाउँमा विद्युत् उत्पादनको कामलाई तीव्रता दिइएको हो । बाग्लुङका विभिन्न खोलाबाट करिब तीन मेगावाट विद्युत् उत्पादन भएको छ । हालसम्म जिल्लामा सञ्चालित ८७ वटा लघु जलविद्युत् आयोजनाबाट करिब तीन मेगावाट विद्युत् उत्पादन भएको जिल्ला ऊर्जा तथा वातावरण शाखाका ऊर्जा विकास अधिकृत मुकुन्दसेन कार्कीले बताए । ‘लघु जलविद्युत्का लागि बाग्लुङमा धेरै सम्भावना छन्,’ कार्कीले भने, ‘यसकै विकासबाट अन्य क्षेत्रमा पनि विकास गर्न सकिन्छ ।’
हालसम्म बाग्लुङमा जिल्ला ऊर्जा शाखाको पहलमा एक हजार ५ सय २५ किवा र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रको पहलमा एक हजार १ सय १५ किवा विद्युत् उत्पादन भएको छ । अरू निजी क्षेत्रबाट समेत लघु विद्युत् आयोजना सञ्चालनमा छन् ।
जिल्लामा ३० भन्दा धेरै पोल्ट्रिसेटबाट समेत विद्युत् उत्पादन भएको ऊर्जा अधिकृत कार्कीले बताए । जिल्लाका विभिन्न क्षेत्रमा निर्माणाधीन विद्युत् आयोजनाबाट अझै १ मेगावाट विद्युत् उत्पादन हुने क्रममा छ ।
बाग्लुङमा अहिले ८६ वटा लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । ती आयोजना सञ्चालन गर्न करिब ७० करोड रुपियाँ दातृ निकायको खर्च भएको छ भने ५० करोड स्थानीयले नगद तथा श्रमदानमार्फत खर्च गरिएको जिल्ला ऊर्जा तथा वातावरण शाखाले जनाएको छ । गाउँलेको सक्रियता भयो भने जिल्लाका अधिकांश गाउँमा लघु जलविद्युत् आयोजना सञ्चालन गर्न सकिने धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रका सहायक इन्जिनियर गंगाप्रसाद आचार्यले बताए ।
संस्थाले जिल्लामा ४१ वटा लघु जलविद्युत् आयोजना सम्पन्न गरिसकेको छ । हाल १० वटा आयोजना निर्माणको क्रममा रहेको आचार्यले जानकारी दिए । ती आयोजनाबाट उत्पादन हुने ९४० किलोवाट विद्युत् ६ हजार १ सय ६७ घरधुरीले विद्युत्को उपभोग गर्न पाउने पनि आचार्य बताउँछन् ।
यस्तै, जिल्ला ऊर्जा तथा वातावरण शाखाको सहयोगमा ६ वटा आयोजना निर्माणाधीन छन् । ती आयोजनाबाट २६० किलोवाट उत्पादन हुने विद्युत् दुई हजार सात ६० घरधुरीले प्रयोग गर्नेछन् । बाग्लुङ जिल्ला लघु जलविद्युत्को जिल्लाका रूपमा चिनिन थालेपछि हिजोआज ऊर्जा जिल्लाभित्र ऊर्जा खोला र ऊर्जा गाउँ घोषणा गर्ने लहर चलेको छ ।

मोदीखोलाको भौतिक संरचनामा क्षति
बाग्लुङ : अविरल वर्षापछि आएको बाढीले पर्वतको देउपुरमा रहेको १४ दशमलव ८ मेघावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रका भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बाढीले देउपुर गाविसको बेतनीस्थित जलविद्युत् केन्द्रको इन्टेकका भौतिक संरचना भत्काएको छ । इन्टेक संरक्षणका लागि बनाइएको पर्खाल भत्केपछि इन्टेकको जमिन पनि भासिएको छ । वर्षाका कारण संरक्षणका लागि केही महिनापहिले बनाइएको पर्खाल भत्केर ढल्ने अवस्थामा पुगेको छ भने डेढ दशक पहिले बनेको इन्टेकको पर्खालसमेत भासिएको छ । खोलामा बाढीको सतह नघटेमा थप क्षति पुग्ने र त्यसले विद्युत् उत्पादनसमेत बन्द हुन सक्ने आयोजनाले जनाएको छ ।
आयोजनामा पुगेको क्षतिबारे अध्ययन गर्न नेपाल विद्युत् प्राधिकरणबाट सिभिल इन्जिनियरको टोली आयोजनास्थलमा आउन लागेको केन्द्रका प्रमुख कपिलदेव माञ्जनले बताए । आयोजनामा क्षति पुगे पनि विद्युत् उत्पादन रोकिएको छैन । बाढीका कारण शुक्रबार दिनभर बन्द गरिए पनि शनिबार बिहान १० बजे देखि ५ मेघावाट उत्पादन भइरहेको छ । आयोजनामा बालुवा छिर्ने समस्याका कारण इन्टेकमा बारम्बार समस्या आउने गरेको छ । खोलाको तीव्र बहावले संरचनामा क्षति पुर्‍याउँदा भत्कने र आयोजना नै बन्द हुने समस्यासमेत आउने गरेको छ । आयोजनाको डिजाइनमै समस्या रहेकाले बालुवा छिर्ने गरेको हो । आयोजनाको डिजाइन नै परिवर्तन गर्नेबारे प्राधिकरणले अनुसन्धान गरिरहेको प्रमुख माञ्जनले बताए ।

प्रतिक्रिया