अन्तत: उनले स्वीकार गरिन्

म १७ वर्षमा जोगी बनेको मान्छे † किशोरावस्थामा प्रेमप्रति मोह पलाएन । तीन महिना पशुपतिमा जोगी बनेर बसेँ । त्यतिबेला मैले आत्म प्रेमबारे बुझेँ । जीवनमा प्रेमको अर्थ त्यतिबेलै बुझेर जोगीको भेष त्यागी फेरि पुरानै जीवनशैलीमा फर्किएँ । पढाइलाई निरन्तरता दिएँ । एमए पढ्दाको समयमा त्यही आत्मिक प्रेमले मलाई पनि तान्यो ।
आज पनि झल्झली सम्झन्छु, मैले उनलाई देखेको त्यो समय । कक्षा सुरु हुन लागेको थियो । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागअगाडि उनी साथीहरूको समूहमा थिइन् । काली–काली तर हिस्सी परेकी । मलाई एक झल्को हेराइमै के भयो कुन्नि । ध्यान उनैतर्फ तानियो । कसैले पनि प्रेम कसरी भयो भन्न सक्दैनन् । सायद मलाई पनि त्यस्तै भयो । त्यसपछि मेरो ध्यान उनीतर्फ बढ्न थाल्यो । उनलाई देखेपछि मनमा छुट्टै सन्तोषको भाव उत्पन्न हुन्थ्यो ।
तर, उनलाई प्रस्ताव राख्न गाह्रो पर्‍यो । कसरी आफ्ना कुरा खोलूँ भन्ने लागिरह्यो । त्यतिबेला अहिलेजस्तो मोबाइल फोनको सुविधा थिएन न त इमेल इन्टरनेट नै । उनी मभन्दा सिनियर पनि थिइन् । एमए दोस्रो वर्षमा पढ्दै थिइन् । माया लागेपछि ठूलो, सानो भन्ने कुराको केही अर्थ नहुने रै’छ । उनप्रति बढेको आकर्षण मेरो आत्मप्रेम रहेछ । आफूलाई भन्दा धेरै उनीबारे सोच्ने भएको थिएँ । एक वर्षसम्म उनलाई प्रेमप्रस्ताव राख्न मलाई धेरै गाह्रो भयो । उनका समूहमा हिँड्ने साथीहरू केही मेरा चिनजानका पनि थिए । करिब, एक वर्षपछि मैले एउटा राम्रो प्रेमपत्र लेखेर उनका साथीमार्फत पठाएँ । उनले अस्वीकृत गरिन् । म भने उनीभन्दा अरू कसैलाई सोच्नै नसक्ने भएको थिएँ । त्यसैले, कलेज आउने बाटो ढुकेर पनि मनका कुरा राख्न खोजेँ तर उनी हाँसेर टारिदिन्थिन् ।
म उनमै समर्पण भएको थिएँ । सायद त्यसैले होला, एकदिन मनले उनको घरमै गएर प्रेम प्रकट गर्ने अठोट गर्‍यो । उनको परीक्षा पनि आउन लागेको थियो । अनि, केही केक, चकलेट झोलामा बोकेर जावलाखेलस्थित उनको घर पुगेँ । मलाई देखेर पहिला त उनको परिवारका सबै अचम्ममा परे । पछि, मैले अर्चनाको साथी भनेपछि केहीबेर भेट्ने स्वीकृति दिए । तर, उनले मैले लगेको चकलेट पनि स्विकारिनन् न त उनको घर गएको नै मन पराइन् । मलाई पनि रिस उठ्यो, कलेजमा मलाई एकतर्फी मन पराउने अर्की केटी थिइन्, त्यो चकलेट फर्काएर उनलाई दिएँ ।
मैले त उनलाई मनदेखि नै चाहेको थिएँ । उनको मायामा समर्पित थिएँ । उनले बेवास्ता गरेपछि टाढा हुने कल्पना पनि गर्न सकिनँ । अन्तत: उनको ‘हुन्छ’ भन्ने वाक्य सुन्नका लागि अन्तिम अस्त्रको प्रयोग गर्ने योजना बनाएँ । योजना थियो– ‘कि मसँग बिहे गर्न हुन्छ भन्नुपर्‍यो, नभए घर झापा गएर बिहे गर्छु ।’ म त्यतिछिट्टै बिहे गर्ने सोचाइमा त थिइनँ तर उनको मन बुझ्नु थियो । मैले गरेको मायालाई हृदयदेखि गरिएको स्वागत पाउनु थियो । उनका साथीमार्फत फ्याँकेको अन्तिम अस्त्रले काम गर्‍यो । जहाँ मैले पहिलोपटक उनलाई देखेको थिएँ । त्यही चौरमा बसेर उनले मेरो प्रेमप्रस्ताव स्वीकार गरिन् ।
त्यसपछि हामीबीच आत्मिक प्रेमयात्रा सुरु भयो । त्यतिबेला म २२ वर्षको थिएँ । जुन यात्रा अहिले बीसौँ वर्षसम्म जारी छ । बीस वर्षअघिकी मेरी प्रेमिका अर्चना अहिले पनि उही प्रेमिका नै छिन् । उनी मेरी एउटा असल मित्र पनि हुन् । अनि, मेरो लेखाइलाई अझ तिखार ल्याउन मद्दत गर्ने पहिलो पाठक पनि ।
मुना मदन, रोमियो र जुलियटका जस्तो दुखान्त अन्त्य भएका प्रेमकहानीलाई आदर्श प्रेम भन्ने बुझाइ पाइन्छ । मलाई लाग्छ, दुखान्त प्रेम मात्रै बलियो हुँदैन । एक अर्काको कमजोरी, अप्ठ्यारा अनि असमझदारीलाई पनि बुझेर सफल हुन सकेको प्रेमयात्रालाई पनि आदर्श मान्नुपर्ने मेरो बुझाइ छ । सायद, यही बुझाइका कारण होला मेरो अर्चनासँगको पहिलो प्रेमलाई पनि आदर्श प्रेम भन्न मन लाग्छ ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया