तुवाँलोमा उज्याला लघुकथा

मानिस व्यस्त छन् । व्यस्तता आधुनिक समाजको मानकझैँ बनेको छ । व्यस्त समयमा पनि मानिस आफ्ना हरेक आवश्यकता पूरा होस् भन्ने चाहन्छ । ती आवश्यकतामध्ये साहित्य पनि एक हो । अनि, साहित्यमा मानिसको आवश्यकता पूर्ति गर्न फास्टफुड स्वाद र शैलीमा विभिन्न विधा बनेका छन् । लाग्छ, लघुकथा त्यही ‘फास्टफुड साहित्य’मा पर्छ । जुन साहित्यलाई अबको समयले टुकुटुकु हिँडाइरहेको छ । अझ बजारमा भटाभट लघुकथा–संग्रह निस्कन थालेपछि लागेको छ– लघुकथा अब आफ्नै खुट्टामा उभिने भएछ ।
डम्बर रसिक भारतीलाई चिन्नेहरूले लघुकथासँग कतै न कतै जोड्न छुटाउँदैनन् । सिन्धुपाल्चोकमा जन्मेका भारती लघुकथा लेखनमा मोफसलबाटै स्थापित एक सर्जक हुन् भन्न कुनै अप्ठ्यारो नहोला । उनको २०६० सालमा प्रकाशित भएको ‘भुइँकुहिरो’ लघुकथा–संग्रहले नेपाली लघुकथा क्षेत्रमा उनलाई एकसरो परिचित गराएको थियो । त्यसपछिका दिनमा पनि उनी लघुकथा लेखनमा इमानदार रूपमा लागिरहे । निकै अन्तरालपछि उनको लघुकथा–संग्रह ‘तुवाँलो’ आएको छ । लघुकथामा खारिएर उपस्थित छन् उनी यसपटक ।
भारतीका कथाभित्र पसेपछि लाग्छ, उनी समाजमा लागिरहेको ‘तुवाँलो’ छिचोल्दै छन् । समाजमा घट्ने स–साना विषय र त्यसले बोकेको गम्भीर मनोविज्ञानलाई कथाले सशक्त रूपमा उठाएको छ । वर्तमान नेपाली समाजको ऐना ‘तुवाँलो’मा जडान गरिएको छ । लघुकथा लेखनमा मौलिक पहिचान बनाउन सफल भारतीका कथाले वरपरकै समस्या देखाएको छ । मानवीय स्वभाव र मनोविज्ञानलाई कलात्मक ढंगले उतारेको छन् उनले । पाठकलाई कतिपय कथा पढेपछि ती कथा आफ्नैजस्ता, छिमेकीका जस्ता वा साथीका जस्ता लाग्न सक्छ । यस अर्थमा उनका लघुकथा यथार्थपरक घटना र प्रवृत्तिसँग जोडिएका छन् ।
‘तुवाँलो’का कथाहरू फास्टफुड चरित्रकै छन् । फास्टफुड क्याफेमा पसलेले तुरुन्तै पाउरोटी दिएजस्तै पात्रहरू सजिलै आउँछन्, कथामा बग्छन् र जान्छन् । एक बसाइमा पूरै पुस्तक यात्रा गर्न सकिन्छ । पुस्तकमा अमित घिमिरेका ‘एब्स्ट्रयाक्ट’ चित्रहरूले कतिपय ‘एब्स्ट्रयाक्ट’ लघुकथाहरूलाई साजसज्जा गरेको छ । पैँतालीसवटा लघुकथाले आआफ्नो कोणबाट सामाजिक स्थितिलाई व्यंग्य गरेका छन् । समाजमा लागेको ‘तुवाँलो’ छिचोल्दा त्यहाँभित्र भेटिने विकृति, कमजोर मानवीय प्रवृत्ति अनि स्वार्थ मानसिकतालाई कथाहरूले उठाएका छन् । उनका लघुकथामा प्रवृत्तिप्रतिको व्यंग्य र चरमोत्कर्षको प्रधानता दुवै पाइन्छ । यी गुण नै लघुकथाका विशिष्ट गुणहरू हुन्, जसले गर्दा लघुकथाहरू सबल छन् । मानिसले भोगिरहेको तर नउठाइएका सामान्य विषयलाई भारतीले सशक्त ढंगले उठाइदिएका छन् । ‘तुवाँलो’मा यसरी हेर्दा लाग्छ, यस्तो पनि कथा बन्दो रहेछ ।
‘घडी हेर्दाहेर्दै’ शीर्षकको लघुकथामा एउटा पात्रले घडी हेरेरै धेरै समय बिताएपछि उसले बस छुटाउन पुग्छ । ‘स्वाभाविक परिणाम’को लघुकथामा रक्सीविरोधी अभियानमा एक्लो बृहस्पतीभैँm लागेका कान्छा दाइ अन्त्यमा हार त खान्छन् नै रक्सी पनि खान्छन् । बाँचुन्जेल कहिल्यै मृदुभाषी नठहर्‍याइएका खड्कबहादुरलाई उनका साथीहरूले उनको निधनपछि पत्रिकामा समवेदना छाप्छन्, हाम्रा मृदुभाषी मित्र…‘समवेदना’ शीर्षकको कथामा । यस्ता विषयहरूले समाजका सामान्य पात्रका जटिल मनोविज्ञान प्रस्तुत गरेको छ । कथाहरू छिचोल्दा लाग्छ, कथाकार जीवनका भिन्नभिन्न आवरणमा बाँचेका पात्रलाई समातेर आफ्नो कथामा कलात्मक तबरले कैद गर्न सिपालु छन् ।
कथाकार भारतीले छानेका कथानक र कथावस्तु पनि ‘भर्जिन’ लाग्छ । त्यसबाहेक अन्य लघुकथामा जस्तो उनका लघुकथामा यसपछि यो होला भनेर पूर्वअनुमान लगाउन पनि कठिन छ । ‘तुवाँलो’ लाई नेपाली लघुकथा क्षेत्रमा एक उपलब्धिपूर्ण कृतिका रूपमा मान्न सकिन्छ । अनि, डम्बर रसिक भारती अब लघुकथा क्षेत्रमा छुटाउन नमिल्ने नाम पनि बनेका छन् । कथाभित्रको समाज पढ्दा तुवाँलोले ढाकेको जस्तो पाइए पनि उनका कथा भने उज्याला लाग्छन् । कथाले दिएको केही प्रकाशले नेपाली लघुकथा वा फास्टफुड शैलीका साहित्यलाई अघि बढ्ने मौका अवश्य दिनेछ ।

प्रतिक्रिया