आज गाई जात्रा मनाईदै

काठमाडौं, १९ साउन । विशेष गरेर नेवार समुदायले मनाउने गाई जात्रा पर्व आज मुलुक भरी मनाईदैछ ।
वर्षभरि दिवंगत भएका आफन्तले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तरेर मोक्ष प्राप्त गरुन् भन्ने कामनासाथ गाईजात्रा मनाउने गरिन्छ ।
आजका दिन बिहानैदेखि एकातिर गाईको अनुहार र अर्कोतर्फ गणेशको चित्र अंकित पेरुंगाको टोपी लगाई दिएर स–साना केटाहरुलाई रंगीविरंगी चोलो र जामा लगाई पटुकाको दुई टुप्पो भुईमा लतार्न लगाएर गाई बनाई नगर परिक्रमा गराउने गरिन्छ ।
कसैले त्यसरी गाई नबनाइकन जोगीको भेष धारण गराएर पनि परिक्रमा गराउने गर्छन् ।
केहीले साच्चिकै गाईलाई पूजा गरेर नगर परिक्रमा गराउने गर्छन् । नगर परिक्रमा गराउँदा साथमा सांस्कृतिक बाजागाजाहरु पनि साथै जाने गर्छन् ।
नगर परिक्रमा गर्नेहरुलाई दिवंगतका नाममा उनका परिवारले रोटी र फलफूल वितरण तथा दूध खुवाउने गर्छन् ।
गाईजात्राका अवसरमा राजधानीमा हाँस्य कलाकारहरुले विभिन्न कार्यक्रम समेत गर्दै छन् ।
गाईजात्रा ईस्वी सम्वतको १७ औं शताब्दीका राजा प्रताप मल्लले उनका छोरा चक्रपतेन्द्र मल्लको असामयिक मृत्युले विरही भएकी उनकी आमालाई तिम्री छोरा मात्र होइन असंख्य प्रजाका छोराछोरी पनि मर्ने गरेका छन् भनी देखाउन यस जात्राको परम्परा बसालेका हुन् भन्ने जनधारणा रहँदै आएको छ ।

प्रतिक्रिया