जनशक्ति अभावले प्राधिकरणलाई अप्ठेरो

काठमाडौं, १९ साउन । एक र दुई तहमा झन्डै साढे पाँच सय कर्मचारी नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई अप्ठेरो परेको छ । तीन वर्षदेखि एक तह र दुईका कर्मचारी नहुँदा प्राधिकरणलाई मिटर रिडिङ, मर्मतलगायत कार्यमा समस्या परेको हो । ‘तीन वर्षदेखि एक र दुई तहका कर्मचारी नभएकाले प्राधिकरणका कामकारबाहीमा धेरै अप्ठेरो परेको छ,’ प्राधिकरणका कायममुकायम उपकार्यकारी निर्देशक बद्रीनाथ रोक्काले थपे, ‘काभ्रे, दोलखालगायत थुप्रै जिल्लामा कर्मचारी हायर गरेर मिटर रिडिङ गर्नुपर्ने अवस्था छ ।’
प्राधिकरणका अनुसार एक तहको मुख्य दरबन्दी एक हजार १६ मध्ये तीन सय चार तथा दुई तहका एक हजार सात सय ९६ दरबन्दीमध्ये दुई सय २८ जना दरबन्दी खाली छन् । तीन वर्षअघि अन्तर्वार्तामार्फत एक सय १४ जना नियुक्ति गरेकोमा निष्पक्षता नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उक्त नियुक्ति रोकेको थियो ।
आर्थिक चलखेललगायत कारणले नियुक्ति गरेको भन्दै उजुरी परेपछि अख्तियारले त्यसलाई रोक्नु भने पनि त्यसपछि थप अनुसन्धान गरेर केही निर्णय अख्तियारले दिएको छैन भने अदालतमा परेको मुद्दाको टुंगोसमेत लागेको छैन । यसकारण अहिले प्राधिकरणलाई नयाँ कर्मचारी भर्ना गर्नसमेत अप्ठेरो परेको छ । हायर गरेका कर्मचारीबाट आफ्नै कर्मचारीको जस्तो राम्रो सेवाभाव नपाइने र चुहावटसमेत बढी हुनसक्ने भएकाले प्राधिकरण खाली दरबन्दी पूर्ति गर्न चाहे पनि यही कारणले गर्नसकेको छैन । अहिले एक तहमा रहेका सात सय १२ तथा दुई तहमा रहेका एक हजार पाँच सय ६८ कर्मचारीबाट मिटर रिडिङ, मर्मतलगायत कार्य गर्न प्राधिकरणलाई अप्ठेरो छ ।
प्राधिकरणका अनुसार माथिल्ला तहमा समेत कर्मचारीको अभाव रहे पनि त्यसलाई पूर्ति गर्न भने प्राधिकरणले आफ्नो प्रक्रिया अघि बढाएको छ । प्राधिकरणमा रहेको १० हजार तीन सय ६४ मध्ये करिब नौ हजार कर्मचारीमात्र कार्यरत छन् भने करिब १३ सय दरबन्दी खाली छन् ।

प्रतिक्रिया