सडकखण्डका होटल पसल अनुगमन

चितवन, १८ साउन । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड छेउछाउका होटल व्यवसायी, होलसेल तथा किराना व्यापारीले नापतौल तथा खाद्यवस्तुमा उपभोक्तालाई ठगी गर्दै आएको खुलासा भएको छ ।
नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनबजारमा रहेका होटल तथा किराना पसल दर्ता नै नगरी सञ्चालन गरेको, नापतौल प्रमाणपत्र नलिईकन ढकतराजु प्रयोग गरिएको, घटबढ भएका ढकतराजु प्रयोग गरिएको, म्याद नाघेका सामान बिक्री गरेको तथा मूल्यसूची नराखेको पाइएको छ । होटल तथा पसलमा फोहर भेटिएको डेट एक्स्पाएर भएका सामान बिक्री गर्न राखेको र खानेकुरासमेत बासी फेला परेको बुधबार घरेलु तथा साना उद्योगका प्रमुख उद्योग अधिकृतको नेतृत्वमा गरिएको अनुगमन टोलीले जनाएको छ । किराना पसलहरूले ढकतराजुमा घटबढ गर्ने तथा म्याद सकिएका खानेकुरा बिक्री गर्दै सर्वसाधारणलाई ठगी गरेको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनका क्रममा मुग्लिनबजारमा रहेको भागीरथ होटलले जेरीमा अखाद्यपदार्थ हाल्ने गरेको, स्टोर असाध्यै दुर्गन्धित अवस्थामा रहेको, मूल्यसूची नराखेको र घरेलु उद्योगमा हालसम्म पनि दर्ता नगरीकन होटल सञ्चालन गरेको पाइएको छ । सो होटलमा केही समयअगाडि मोहनचन्द्र जोशीको नेतृत्वमा रहेको पाँच सदस्यीय टोलीले अनुगमन गरी होटललाई सम्पूर्ण रूपमा व्यवस्थित नगरी सञ्चालन गरेमा तत्काल सामान बिक्रीवितरण बन्द गर्ने निर्देशन दिइएको थियो । सोही स्थानका टेकबहादुर गुरुङले सञ्चालन गरेको प्रकाश किराना पसलले नापतौलको कागजपत्र नभएको ढकतराजु प्रयोग गरेको र तराजुमा घटबढ रहेको, सात महिना म्याद नागेको श्रीकृष्ण दालमोट उद्योगको भुजिया बिक्री गर्दै आएको छ । आमा होटल सञ्चालन गर्दै आएको ३–४ वर्षसम्म दर्ता नभएको र बासी खानेकुरा प्रयोग गरेको पाइएको छ ।
यस्तै, दारेचोक–४ मा रहेको पुनदेव गल्ला किराना स्टोर्समा डेट एक्स्पाएर भएका आधा केजीका सुजीका पोकाहरू राखिनुका साथै मूल्य सूची नभएको र व्यवसाय दर्ता नभएको अनुगमनका क्रममा पत्ता लगाइएको छ । ती होटलमा मूल्यसूची नराखिएको, बिक्रीबिल दिने प्रक्रिया नभएको र पूजा होटल घरेलु उद्योगमा दर्तासमेत नगरीकन सञ्चालन गरिएको पाइएको छ ।

प्रतिक्रिया