‘पोषिलो मकै–१’ पहाड र तराईमा उपयुक्त

काठमाडौं, १९ साउन । लामो अनुसन्धानपछि नेपालको पहाड र तराई दुवै क्षेत्रका लागि सबैभन्दा उपयुक्त बालीका रूपमा पोषिलो ‘मकै–१’ देखिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्ले अन्तर्राष्ट्रिय मकै तथा गहुँ अनुसन्धान केन्द्र (सिमिट) को सहयोगमा सन् १९९९ देखि सन् २००८ सम्म गरेको अनुसन्धानले उक्त बाली उपयुक्त देखिएको हो । पहाडी मकै बाली अनुसन्धान परियोजनाअन्तर्गत करिब दश वर्ष गरेको अनुसन्धानपछि राष्ट्रिय बिउवीजन समितिले सन् २००८ मा उक्त मकै उन्मोचन गरेको थियो । उक्त मकै परीक्षणका लागि मेक्सिको पठाइएकामा त्यहाँबाट समेत सन् २००९ मा प्रमाणित भएर आएको थियो । सन् २००९ पछि नेपालका विभिन्न ठाउँमा गरिएको पोषिलो मकैको उत्पादनबाट समेत पहाड र तराईका लागि पोषिलो मकै उपयुक्त देखिएको बालीविज्ञ निर्मल गदाल बताउँछन् ।
सन् २००९, सन् ०१० र सन् ०११ सम्म परीक्षण रूपमा विभिन्न जिल्लामा पोषिलो मकै–१ को खेती गरिएकामा खेती सफल भएपछि सबैभन्दा उपयुक्त बालीका रूपमा यसलाई लिइएको छ । साधारण मकैभन्दा दोब्बर प्रोटिन हुने, रोग कम लाग्ने, कम ढल्ने मकैका रूपमा पोषिलो मकै–१ भएको अनुसन्धानले पत्ता लगाएको छ । ‘अनुसन्धान र त्यसपछि भएका खेतीले किसानका लागि पोषिलो मकै उपयुक्त देखिएको छ तर यस खेतीको प्रचारप्रसार अझ पुगेको छैन,’ विज्ञ गदालले भने ।
अनुसन्धानअनुसार साधारण मकैमा ३६ प्रतिशत मात्र प्रोटिन पाइन्छ भने पोषिलो मकै खाँदा ८९ प्रतिशत प्रोटिन पाइन्छ । यसका लागि साधारण मकै ५४७ ग्राम खानुपर्छ भने पोषिलो मकै २५० ग्राम खाए पुग्छ । अनुसन्धानले कुपोषणको शिकार भएका चार महिनादेखि २३ महिनासम्मका बालबालिका र वृद्धवृद्धाका लागि उपयुक्त खानाका रूपमा मकैलाई हेरिएको छ । ‘धेरै जातमध्ये नेपालका लागि पोषिलो मकै उपयुक्त देखिएको छ,’ राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुरका प्रमुख डा. केबी कोइरालाले थपे, ‘धेरै प्रचारप्रसार गरेर जिल्लाजिल्ला पुर्‍याउने अभियानमा छौँ, अहिले पनि विभिन्न माध्यमबाट प्रचारपसार गरिरहेका छौँ ।’ उनका अनुसार पोषिलो मकैको प्रचारप्रसारका लागि ‘पहाडका लागि खाना, तराईका लागि दाना’ भन्ने अभियान अघि सारिएको छ ।
बिउको अभाव र प्रचारप्रसारको कमीका कारण धेरै क्षेत्रका किसानमाझ नपुगे पनि खेती सुरु गरिएका जिल्ला र क्षेत्रमा भने किसानमाझ यो बाली लोकप्रिय हुन थालेको छ । सन् २००९ मा पाल्पा, बाग्लुङ, दोलखालगायतका जिल्लाको पाँच सय रोपनीमा र सन् २०१० मा दुई हजार रोपनीमा किसानले खेती गरेका थिए । सिमिटका अनुसार सन् २०११ मा नौ हजार पाँच सय रोपनीमा १० हजार घरधुरीले पोषिलो मकैको खेती गरेका थिए । उक्त खेतीबाट एक हजार टन मकैको बिउ उत्पादन भएको छ । सन् २०१२ मा चार हजार रोपनीमा पोषिलो मकैको खेती गर्ने लक्ष्य राखिएको छ । पोषिलो मकै किसानले पनि मन पराएका छन् । ‘यो मकैमा पोट्रिनको मात्रा एकदम बढी हुने रहेछ, बिउको माग पनि अत्याधिक छ,’ पाल्ल्पाको पोखराचोक–८ छतिवनका किसान लेखनाथ गैरेले भने, ‘यो मकै धेरै लोकप्रिय बनेको छ, हामीलाई १० क्विन्टलजति यो मकैका बिउको माग आएको छ तर एकदम कम मात्र उत्पादन छ ।’ शिवशक्ति कृषि समूहका अध्यक्षसमेत रहेका गैरेका अनुसार छतिवनमा दुई वर्षदेखि थलिएको एउटा भैसी पोषिलो मकैको खाद्यान्न खुवाएपछि बिसेक भएको थियो । मध्यपहाडी क्षेत्रमा एक हजार मिटरदेखि १४०० मिटरको उचाईसम्म उक्त बंैकको खेती हुने अनुसन्धान देखाएको छ । अफ्रिकी महादेशको घाना देशमा बंगुर र कुखुरा पालनमा गरिएको परीक्षणको नतिजाअनुसार पोषिलो मकैयुक्त दाना खुवाइएको बंगुर साधारण मकै खुवाएको भन्दा चाँडै बढ्ने, रोग कम लाग्ने, आकर्षक देखिएको थियो । अहिले लुम्ले र खुमलटारमा कुखुरा र बंगुरमा समेत यसबारे परीक्षण भइरहेको छ ।
सन् २००० मा यो मकैले विश्वकै मकै तथा गहुँ सुधार केन्द्रका वैज्ञानिक सुरेन्द्र कुमार बसल र इभानगेलिना भिलेगार यही मकै पत्ता लगाएकामा वल्र्ड फुड प्राइजबाट सम्मानित भएका थिए । अफ्रिका र दक्षिण अमेरिकामा समेत यो मकै लोकप्रिय मानिन्छ ।
‘खाए मकै, नखाए भोकै’ उखान पहाडी जिल्लाका प्रचलित छ । मकै पहाडको मुख्य बाली पनि हो । पहाडमा यो खेती करिब ५५ प्रतिशत किसानले गर्ने गरेका छन् तर अझै परम्परागत मकै खेती बढी गरिने पाइएको छ । पोषिलो मकै–१ लाई पहाडी जिल्लाका सबै क्षेत्रमा पुर्‍याउनसके मकै खेतीबाट ठूलो आम्दानी हुनसक्ने देखिएको छ ।

प्रतिक्रिया