माओवादीको कमिटी भीमकाय आकारको

काठमाडौं, १९ साउन । बहालवाला केन्द्रीय सदस्यभन्दा झन्डै डेढ गुणा बढी मनोनित गरेर एकीकृत माओवादीले महाधिवेशन आयोजक समिति विशाल आकारको बनाउने भएको छ । शीर्ष नेताहरूले मनोनीत गर्न आ–आफ्ना पक्षधरहरूको नाम भटाभट थप्न थालेपछि एमाओवादी दुई सय ५१ सदस्यीय आयोजक समिति बनाउने निष्कर्षमा पुगेको हो ।

बिहीबार बसेको आयोजक समिति बैठकले १ सय ४७ सदस्य मनोनित गरेर दुई सय ५१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । २० सदस्य भने पछि मनोनीत गरिनेछन् । तत्कालीन उपाध्यक्ष मोहन वैद्यले पार्टी विभाजन गरेपछि अहिले एमाओवादीको महाधिवेशन आयोजक समिति एक सय चार सदस्यीय रहेको छ ।
बुधबारको बैठकमा अध्यक्ष दाहालले एक सय ७५ सदस्यीय आयोजक समिति बनाउन प्रस्ताव गरेका थिए । उनले मनोनीत गर्ने सदस्यको नाम पनि प्रस्ताव गरेका थिए । दाहालले प्रस्ताव गरेका नाम समावेशी नभएको, राज्य समितिमा रहेका पुराना नेताहरू छुटेका, आफ्नो क्षेत्रबाट कोही नपरेको भन्दै सदस्यहरूले आपत्ति जनाएका थिए ।
आकांक्षीहरू धेरै भएको र सबै क्षेत्रलाई समेट्नु परेकाले आयोजक समिति ठूलो भएको एमाओवादीले जनाएको छ । नेताहरूको कार्यविभाजन शनिबार बस्ने बैठकले गर्ने प्रवक्ता दीनानाथ शर्माले बताए । ‘सबै क्षेत्र समेट्नुपर्ने भएकाले दुई सय ५१ सदस्यीय आयोजक समिति बनाउने निर्णय भएको छ । कार्यविभाजन शनिबार बस्ने बैठकले गर्छ,’ बैठकपछि प्रवक्ता शर्माले पत्रकारसित भने ।
साउनको पहिलो साता सम्पन्न एमाओवादीको विस्तारित बैठकले केन्द्रीय समिति भंग गरी त्यसलाई आयोजक समितिमा रूपान्तरण गरेको थियो । बैठकले महिला, मुस्लिम, दलित, पिछिडिएको क्षेत्रलाई समेट्ने गरी केही सदस्य मनोनीत गरेर आयोजक समिति समावेशी बनाउन नेतृत्वलाई निर्देशन दिएको थियो ।
अध्यक्ष दाहाल तथा उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले मनोनीत गरिने लिस्टमा आ–आफ्ना पक्षका सदस्यहरू भटाभट थप्न थालेपछि आयोजक समिति जम्बो बन्न पुगेको स्रोतले जनाएको छ । मनोनीत गरिएकामा अध्यक्ष दाहाल पक्षधर धेरै रहेका छन् । त्यसपछि क्रमश: उपाध्यक्ष भट्टराई र श्रेष्ठ पक्षका रहेका छन् ।
शीर्ष नेताहरूबीच मनोनीत गर्ने नामका बारेमा विवाद नै भएको स्रोतले जनाएको छ । पार्टी हेडक्वाटरमा आयोजक समितिमा मनोनयनका लागि साढे तीन सयभन्दा बढीको नाम आएको थियो ।

प्रतिक्रिया